Friday, September 4, 2026
Homeराजनीतिकांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, वडा अधिवेशन असोज १५ गते

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, वडा अधिवेशन असोज १५ गते

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ। कांग्रेस १५औँ महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनसहित विभिन्न तहका अधिवेशनको कार्यतालिका तय गरेको हो।

तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा भाद्र १७ गतेदेखि चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले अधिवेशनसम्बन्धी विभिन्न निर्णय गरेको छ।

बैठकको निर्णयअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन हुनेछ।

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने अधिवेशनको कार्यतालिका पछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशनसम्बन्धी कार्यतालिका पनि आवश्यक परामर्शपछि सार्वजनिक गरिने भएको छ।

महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समितिलगायत गठन गर्ने जिम्मेवारी संयोजक कोइरालालाई दिइएको छ। भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठनको जिम्मेवारी पनि उनलाई नै दिइएको छ।

कांग्रेसले ७७ वटै जिल्लामा अधिवेशन तयारी समिति गठनका लागि सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यको सिफारिसमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ। केन्द्रीय प्रतिनिधिले भाद्र २५ गतेभित्र जिल्ला, भाद्र २८ गतेभित्र संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्र र असोज ३ गतेभित्र पालिका तथा वडा अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्नेछ।

त्यस्तै, वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन तयारी समितिले असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्नुपर्ने निर्णय भएको छ।

बैठकले नयाँ क्रियाशील सदस्य, १४औँ महाधिवेशनमा सहभागी सबै क्रियाशील सदस्य तथा तोकिएको समयभित्र सदस्यता नवीकरण वा नयाँ सदस्यताको फारम भरेका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरेको छ। क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्पन्न भएमा छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने कांग्रेसले जनाएको छ।

महाधिवेशन तथा अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ जिल्ला तथा जिल्लामार्फत विभिन्न निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशनमा निर्वाचन तथा मतदान अधिकृत पठाउने निर्णय पनि गरेको छ।

यसैगरी, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनका लागि इच्छुक उम्मेदवारहरूको नामावली संकलन गरी उपयुक्त उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ।

यसैबीच कांग्रेसले पार्टीका संस्थापक नेता बीपी कोइरालाको ११३औँ जन्मजयन्ती भदौ २४ गते भक्तपुरमा मनाउने भएको छ। कार्यक्रम व्यवस्थापनका लागि कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका