Friday, September 18, 2026
Homeसामाचारकर्णाली बस दुर्घटनामा उद्धारमा सरकार असफल भएको ज्ञानेन्द्र शाहीको आरोप

कर्णाली बस दुर्घटनामा उद्धारमा सरकार असफल भएको ज्ञानेन्द्र शाहीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखिएको टिप्पणी गरे।

उनले असार १८ गते कर्णाली नदीमा बस खस्दा यात्रुहरू नदीको बीचमा फसेर जीवन बचाइदिन गुहार गरिरहे पनि समयमै उद्धार हुन नसकेको दाबी गरे।

‘मैले आज कर्णालीमा दुर्घटना मात्र देखेको छैन, सरकारको गैरजिम्मेवारी र असफलता देखेको छु। गाडी नदीमा खस्यो, मानिसहरू नदीको बीचमा फसेर जीवन बचाइदिन हारगुहार गरिरहेका थिए। एकजना व्यक्ति भीरमा अड्किएर बाँच्न संघर्ष गरिरहनुभएको थियो। तर समयमै उद्धार नपुग्दा उहाँहरूको ज्यान गयो,’ उनले भने।

सांसद शाहीले दुर्घटनाका बेला आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको दाबी गरे।

उनका अनुसार उद्धार टोलीसँग आवश्यक उपकरणको अभाव थियो भने सुर्खेतबाट घटनास्थलमा उद्धारका लागि हेलिकप्टर पठाउन नसक्नु सरकारको गम्भीर कमजोरी हो।

‘मैले तत्काल फोन गरेको थिएँ। उद्धार टोलीसँग आवश्यक साधन थिएन। सुर्खेतबाट घटनास्थलमा एउटा हेलिकप्टरसमेत पठाउन नसक्ने सरकार आखिर कसका लागि काम गरिरहेको छ?’ भन्दै उनले सरकारसँग प्रश्न गरे।

सांसद शाहीले कर्णालीका नागरिकमाथि विभेद भएको आरोप लगाउँदै कर्णाली पनि नेपालको अभिन्न अंग भएकाले त्यहाँका नागरिकले समान राज्यसेवा र सुरक्षा पाउनुपर्ने बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका