Sunday, June 21, 2026
Homeसामाचारकर्णाली प्रदेशमा धान उत्पादनमा उल्लेखनीय वृद्धि

कर्णाली प्रदेशमा धान उत्पादनमा उल्लेखनीय वृद्धि

सुर्खेतस्थित काँक्रेविहारबाट प्राप्त समाचारअनुसार, कर्णाली प्रदेशमा धान उत्पादनमा सुधार देखिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धान उत्पादनमा पाँच हजार २२१ मेट्रिक टनको वृद्धि भएको छ।

मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले बताएअनुसार गत आर्थिक वर्षमा १ लाख २४ हजार ९६९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष यो संख्या १ लाख ३० हजार ७९० मेट्रिक टनमा पुगेको छ।

डोल्पा कर्णालीको सबैभन्दा कम धान उत्पादन गर्ने जिल्ला हो। यहाँ १९९ हेक्टर जमिनमा खेती गरिएकामा केवल ३५० मेट्रिक टन उत्पादन भएको छ। मुगुमा भने ८८५ हेक्टर क्षेत्रफलमा ९७५ मेट्रिक टन धान उत्पादन भएको छ।

हुम्लामा ५५० हेक्टर जमिनमा खेती भई १ हजार ३६ मेट्रिक टन उत्पादन भएको छ। यस्तै, जुम्लामा परम्परागत मर्सी धानखेतीबाट २ हजार ९३० हेक्टरमा ६ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको छ।

कालीकोटमा यस वर्ष धान उत्पादनमा सुधार देखिएको छ। २ हजार ४२५ हेक्टरमा धानखेतीबाट ५ हजार ५ सय मेट्रिक टन उत्पादन भएको छ, जुन गत वर्षको तुलनामा २१८ मेट्रिक टन बढी हो।

रुकुम पश्चिममा २ हजार ६४ हेक्टर क्षेत्रफलमा खेती भई ५ हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ। सल्यानले भने ६ हजार ७६० हेक्टर क्षेत्रफलमा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन गरी उच्च स्थान कायम गरेको छ।

जाजरकोटमा २ हजार ५६० हेक्टर खेतीयोग्य जमिनबाट ८ हजार ७८५ मेट्रिक टन धान उत्पादन भएको छ। दैलेखले २५ हजार १२० मेट्रिक टन उत्पादन गर्दै अघिल्लो वर्षको तुलनामा १ हजार ६२० मेट्रिक टनको वृद्धि हासिल गरेको छ।

कर्णालीको प्रमुख जिल्ला सुर्खेतले यस वर्ष ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन गरेको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा ५ हजार ९०९ मेट्रिक टनले बढी हो।

कर्णाली प्रदेशमा कृषि उत्पादनको यो वृद्धिले स्थानीय किसानमा उत्साह थपिएको छ। मन्त्रालयका अनुसार, उचित प्राविधिक सहयोग र अनुकूल मौसमका कारण उत्पादनमा सुधार आएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका