Tuesday, July 21, 2026
Homeसामाचारकरोडौँको लेनदेन विवादमा सांसद आशिका तामाङको नाम मुछियो, पीडित परिवारद्वारा ठगी र...

करोडौँको लेनदेन विवादमा सांसद आशिका तामाङको नाम मुछियो, पीडित परिवारद्वारा ठगी र किर्ते आरोप

विराटनगर । अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बास्कोटाबीचको करोडौँ रुपैयाँको लेनदेन विवादमा प्रतिनिधिसभा सदस्य आशिका तामाङको नामसमेत जोडिएको छ। पीडित परिवारले बास्कोटामाथि ठगी, किर्ते तथा ब्ल्याकमेल गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको छ भने बास्कोटाले सबै आरोप अस्वीकार गरेका छन्।

पीडित परिवारका अनुसार क्यान्सर पीडित डम्बरबहादुर बुढाथोकीको उपचारका क्रममा जीवनप्रसाद बास्कोटाले आफूलाई बीमा कम्पनीसँग आबद्ध वरिष्ठ कर्मचारीका रूपमा चिनाई परिवारसँग निकटता बढाएका थिए। त्यसपछि बीमालगायत विभिन्न बहाना बनाएर नगद, जग्गा बिक्रीबाट आएको रकम तथा बैंक कर्जासहित विभिन्न चरणमा गरी २ करोड ८ लाख रुपैयाँ लिएको उनीहरूको दाबी छ।

परिवारका अनुसार पछि घरबाट चेकबुक चोरी गरी किर्ते हस्ताक्षरका आधारमा चेक जारी गरिएको थियो। त्यसमध्ये एउटा चेक जीवनप्रसाद बास्कोटाको नाममा १ करोड ८५ लाख रुपैयाँ र अर्को प्रतिनिधिसभा सदस्य आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको रहेको दाबी गरिएको छ। खातामा पर्याप्त रकम नभएपछि दुवै चेक बाउन्स भएको पीडित पक्षको भनाइ छ।

पीडित कुष्मा बुढाथोकीले आफू अमेरिका बसिरहेका बेला यस्तो घटना भएको दाबी गर्दै चेकबुक कसरी हरायो र सांसद तामाङको नाममा चेक कसरी पुग्यो भन्ने विषय निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेकी छन्।

परिवारले ठगी तथा किर्तेसम्बन्धी जाहेरी लिएर प्रहरी परिसर काठमाडौं पुगे पनि सुरुआतमा प्रहरीले उजुरी दर्ता गर्न नमानेको आरोप लगाएको छ। त्यसपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि आयोगको पहलमा प्रहरीले सोमबार जाहेरी दर्ता गर्ने आश्वासन दिएको पीडित पक्षले जनाएको छ।

यता, जीवनप्रसाद बास्कोटाले आफूमाथि लागेको ठगी, चेक चोरी र ब्ल्याकमेलका आरोप अस्वीकार गरेका छन्। उनका अनुसार यो विशुद्ध व्यक्तिगत लेनदेनको विषय हो र चेक चोरी वा किर्तेसँग आफ्नो कुनै सम्बन्ध छैन। उनले बैंकले हस्ताक्षर नमिलेको नभई खातामा रकम अभावका कारण चेक बाउन्स भएको दाबी गरेका छन्।

सांसद आशिका तामाङको नाम यस प्रकरणमा कसरी जोडियो भन्ने विषयमा बास्कोटाले आफू र तामाङबीच कुनै चिनजान, मिलेमतो वा सम्बन्ध नरहेको बताएका छन्। तामाङसँग सम्बन्धित कारोबार भए त्यो आफूलाई जानकारी नभएको उनको भनाइ छ।

यस विषयमा सांसद आशिका तामाङको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका