Sunday, November 8, 2026
Homeसामाचारकम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको एकैपटक सरुवा

कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको एकैपटक सरुवा

काठमाडौँ, ६ साउन — कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरिएको छ। सेवाग्राहीका काम समयमा नगरेको, स्वचालित प्रणालीमा प्रविष्ट भइसकेका फाइलहरू पनि समयमा सदर नगरेको लगायतका गुनासोहरू आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार उनीहरूको सरुवा गरेको हो।

सरुवा गरिएकामध्ये शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसमेत छन्। मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ती कर्मचारीहरूलाई अन्य निकायमा खटाइएको हो।

उक्त निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असार २७ गतेको निर्णयअनुसार गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा गरिएको हो। समितिको नेतृत्व एक सहसचिवले गरेका थिए।

उद्योगमन्त्रीस्तरीय निर्णयअनुसार कम्पनी प्रशासनसम्बन्धी अनलाइन सेवामा बढ्दै गएका गुनासोका कारण कम्पनी रजिष्ट्रार कार्यालयको स्थलगत अनुगमन गरिएको थियो। त्यसपछि मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरी कार्यालयको स्थलगत निरीक्षण गराएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो।

समितिको प्रतिवेदनका आधारमा कार्यालयमा नियमित अनुगमन गर्ने, कम्पनी ऐन तथा प्रचलित कानुनअनुसार प्रणालीगत सुधार गर्ने र प्रक्रियागत सरलीकरणमार्फत अनलाइन सेवा प्रवाहलाई अझ चुस्त र प्रभावकारी बनाउन कार्यालयलाई निर्देशन दिइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका