काठमाडौं । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान गरिएको छ । यसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशको तराई तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका पहाडी र हिमाली भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य हिमाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।


