Sunday, November 8, 2026
Homeसामाचारकञ्चनपुरमा हिंसात्मक आक्रमण: नेताहरूको घर र कार्यालयमा तोडफोड तथा आगजनी

कञ्चनपुरमा हिंसात्मक आक्रमण: नेताहरूको घर र कार्यालयमा तोडफोड तथा आगजनी

कञ्चनपुर, २४ भदौ – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आन्दोलनकारीहरूले सत्तारूढ नेपाली कांग्रेस र एमालेका नेताहरू तथा जनप्रतिनिधिहरूको घर–कार्यालयमा व्यापक तोडफोड र आगजनी गरेका छन्।

कञ्चनपुर–३ का सांसद तथा गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ। यस्तै, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको ऐंठपुरस्थित घर, पूर्वआर्थिक मामिला मन्त्री प्रकाश रावलको खैरेनीस्थित घर र भीमदत्त नगरप्रमुख पदम बोगटी तथा उपप्रमुख निलम लेखक जोशीको घरमा समेत आक्रमण भएको छ।

भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, प्रदेश सभा सदस्य मधु भारत, बेदकोट नगरप्रमुख भोजराज बोहरा र जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको घरमा पनि तोडफोड र आगजनी भएको छ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक भवन र सबै १२ वटै वडा कार्यालयमा तोडफोड गरी कार्यालयभित्र रहेका सामान बाहिर निकालेर आगजनी गरिएको छ। कार्यालयका फर्निचर, कम्प्युटरलगायतका सामग्री ध्वस्त पारिएका छन्।

आन्दोलनकारीहरूले एमाले कञ्चनपुर इञ्चार्ज निरुदेवी पालको मेन रोडस्थित घर, प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा समेत आगजनी गरेका छन्। कृष्णपुर नगरप्रमुख हेमराज ओझाको घरमा पनि तोडफोड भएको छ।

यस्तै, सत्तारूढ कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। दोधारा चाँदनी नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार हुँदा सिसा फुटेका छन् भने त्यहाँस्थित कांग्रेस पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका