कञ्चनपुर, २१ साउन — कञ्चनपुरको लालझाडी गाउँपालिका–४ अन्तर्गत जाई–पर्सिया गाउँमा जङ्गली हात्ती दिउँसै प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रासमा परेका छन्।
मंगलबार दिउँसो एक भाले वयस्क हात्ती बस्ती प्रवेश गरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको थियो। हात्ती देखेपछि स्थानीयले होहल्ला गरेर त्यसलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ तर्फ भगाएका थिए। तर हात्ती पुनः बस्ती फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले जानकारी दिनुभयो।
“हात्तीले हरेक वर्ष बाली नष्ट गर्छ, गत वर्ष त एक जनाको ज्यानसमेत गएको थियो,” उहाँले भन्नुभयो, “हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिरहेका छौँ।”
गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार जाई–पर्सिया क्षेत्रमा हरेक वर्ष जङ्गली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर्याउने र जनधनको समेत क्षति हुने गरेको छ। उनका अनुसार हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै बस्तीमा प्रवेश गरेको हो।
लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले संरक्षण क्षेत्रमा हाल पाँचवटा जङ्गली हात्ती रहेको जानकारी दिनुभयो। उहाँका अनुसार ती हात्तीहरू बस्ती हुँदै शुक्लाफाँटा निकुञ्जतर्फ आउजाउ गर्ने गर्छन्। हात्ती जुनसुकै बेला पनि बस्तीमा प्रवेश गर्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।


