Saturday, November 7, 2026
Homeसामाचारओलीको जोडः नेपालमा नेपालीकै सरकार आवश्यक, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुन...

ओलीको जोडः नेपालमा नेपालीकै सरकार आवश्यक, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुन आह्वान

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिनुभएको छ। ४२औँ ‘पिस्कर सहिद स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको इतिहास संघर्ष, त्याग र बलिदानको निरन्तर परम्पराले निर्माण भएको उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले संघर्ष कुनै एक समय वा पुस्ताबाट मात्र सुरु नभएको स्पष्ट पार्दै इतिहासका विभिन्न चरणमा जनताले दमन र आक्रमणका बीच पनि निरन्तर संघर्ष गर्दै उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले संघर्ष र उपलब्धि सँगसँगै अघि बढिरहेको उल्लेख गर्दै वर्तमान अवस्थामा पनि त्याग र बलिदान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले वर्तमान राजनीतिक संघर्षको मूल विषय नेपालमा नेपालीकै सरकार स्थापना गर्नु रहेको स्पष्ट पार्नुभयो। नेपाल सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र भएकाले यहाँ विदेशी प्रभाव वा हस्तक्षेप नभई नेपाली जनताबाट निर्वाचित सरकार हुनुपर्नेमा उहाँको जोड थियो।

अध्यक्ष ओलीले भन्नुभयो, “आजको राजनीति दुई धारको बीचमा उभिएको छ। हाम्रो तत्कालीन संघर्षको केन्द्रबिन्दु नेपालमा नेपालीकै सरकार स्थापना गर्नु हो। नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो, त्यसैले यहाँ विदेशी होइन, नेपाली सरकार हुनुपर्छ।”

उहाँले नेपालीकै सरकार हुनुपर्छ भन्ने विचार राख्ने शक्तिहरूमाथि सुनियोजित आक्रमण भएको आरोप समेत लगाउनुभयो। उहाँका अनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता राज्यका प्रमुख अंगका भवनहरूमा आगजनी गरिएको छ भने राष्ट्रिय अर्थतन्त्र सुदृढ हुनुपर्छ भन्ने उद्देश्यले सञ्चालन गरिएका उद्योग–व्यवसायहरूलाई समेत लक्षित गरिएको छ।

अध्यक्ष ओलीले यस्ता गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र संवैधानिक व्यवस्थाको रक्षा गर्न सबै राष्ट्रप्रेमी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका