काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना हुँदा सर्वसाधारण मारमा परेको भन्दै समस्या तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद विष्णुदेवी पुडासैनी र कृष्णप्रसाद अधिकारीले ग्यासको चरम अभावका कारण घरघरमा चुलो बाल्नसमेत समस्या भएको बताए । उनीहरूले बजारमा कालोबजारी बढेको भन्दै प्रभावकारी अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे ।
बैठकमा सांसदहरूले जनजीविका तथा समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद घनश्याम रिजालले पक्राउ परेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरे ।
त्यस्तै, पाकिस्तानमा हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित छ जना नेपाली र अन्य तीन जनाको निधन भएको घटनाप्रति सांसद रुक्मिणी कोइरालाले दुःख व्यक्त गर्दै शोक प्रकट गरिन् ।
उपत्यकामा बढ्दो घर तथा कोठा भाडाको समस्याबारे सांसद विष्णुकुमारी सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै व्यवस्थित भाडा नीति निर्माण गरी निश्चित दर निर्धारण गर्न आग्रह गरिन् । उनले मनपरी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताइन् ।
सांसद पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन हुँदा उत्पन्न समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।
त्यस्तै, सांसद रेनु चन्दले कञ्चनपुरका आरक्षपीडितको समस्या वर्षौँदेखि समाधान हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । दर्जनौँ आयोग गठन भए पनि समस्या समाधान नभएको उनको भनाइ थियो ।
यसैबीच, सांसद विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकामा स्थानीयवासीमाथि विनाकारण धरपकड गरिएको भन्दै त्यसको विरोध गरेका छन् । उनले घटनाबारे आवश्यक छानबिन गरी स्थानीयवासीको अधिकार र सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


