Tuesday, June 9, 2026
Homeअन्तरवार्ता‘एमाले शान्त छ, तर पार्टीमा छलफल नै हुँदैन भन्ने होइन’

‘एमाले शान्त छ, तर पार्टीमा छलफल नै हुँदैन भन्ने होइन’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले १० औं महाधिवेशनको संघारमा छ । यो महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई फेरि सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने मत बलियो बन्दै गएको छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएकाले पनि ओली अध्यक्ष बन्नुपर्ने सचिव प्रदीप ज्ञवाली बताउँछन् ।

पदाधिकारीमा भने सहमति गर्न सहज नभएको स्वीकार गर्छन् । एमालेको मूल धार, पूर्व माओवादी पृष्ठभूमिबाट आएका र १० बुँदे गर्दै मूलधारमा बसेका नेताहरुको मनोविज्ञानलाई जोडेर एमालेलाई बलियो बनाउनुपर्ने उनको तर्क छ ।

प्रस्तुत छ, आसन्न महाधिवेशन, नेतृत्व छनोट लगायतका सन्दर्भमा एमाले सचिव ज्ञवालीसँग अनलाइनखबरकर्मी बिनु सुवेदी र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

सबभन्दा ठूलो राजनीतिक दल भइकन पनि प्रदेशका सबै सरकार गुमेका छन् र केन्द्रको सरकार हातमा छैन । ठूलो भएर मात्रै पनि नहुँदो रहेछ भन्ने समीक्षासहित १० महाधिवेशनमा जाँदै हुनुहुन्छ ?

यो दृष्टिकोणको कुरा हो । राजनीति भनेको सरकार र सत्ताबाट प्राप्त हुने सुविधालाई विशेष ठान्नेका लागि यसलाई ठूलो विषय लाग्दो हो । हामी सरकारबाट बाहिरिएको विषयलाई अस्वाभाविक ठानिरहेका छैनौं । किनकी हामी जनादेश/जनमतबाट बाहिरिएका होइनौं । २०७४ मा प्राप्त जनमत हामीसँग यथावत छ । अझ कतिपय ठाउँमा बढिरहेको छ । हाम्रो सरकार स्वाभाविक संसदीय प्रक्रियाबाट परिवर्तन भएको पनि होइन ।

अहिले हामीले खोजिरहेको जवाफ के हो भने जनताले अस्वीकृत गरेका पार्टी या सांसदहरुको शासन कहिलेसम्म सहने ? नेपाली कांग्रेसको नेतृत्वलाई पछिल्लो निर्वाचनले अस्वीकृत गरेको हो । १६५ सिटमध्ये कांग्रेसले २३ सिटमात्रै जितेको हो । आज ऊ सरकारको नेतृत्वमा पुग्यो । माओवादी केन्द्रले पाएको मतमा पनि एमालेको हिस्सेदारी छ । तर, जनताको मतलाई एकातिर पन्छाएर अदालत लगायतको तारतम्यबाट कृत्रिम सरकार बन्यो । यो विरोधाभास कसरी अन्त्य गर्ने भन्नेमा हामी छौं । सरकारबाट बाहिरिनु परेकोमा कुनै गुनासो छैन ।

जनताले असाध्यै विश्वास गरेपनि आन्तरिक कारणले सत्ता गुम्यो । फेरि दुईतिहाई मत दिनुस्, हामी काम गर्छाैं भनिरहनुभएको छ । राजनीति भन्नु सत्ता नै त रै’छ नि हैन ?

सही भन्नुभयो, सामान्यतः मार्क्सवादी विश्लेषणमा परिवर्तनका निर्णायक पक्ष भनेको आन्तरिक हुन्छन् । कहिलेकाहीँ आन्तरिक पक्षभित्र रहेका कमजोर तत्वलाई उपयोग गर्दै बाहिरी पक्ष पनि निर्णायक हुन्छन् । अहिले नेकपा एमाले सरकारबाट बाहिरिनुको कारण आन्तरिक मात्रै हो भन्ने हामीलाई लाग्दैन ।

केही वर्षयता नेपाली राजनीतिमा दुईवटा कोर्सबीच संघर्ष चलिरहेको छ । हामी एउटा खास कोर्सको प्रतिनिधित्व गर्छाैं । म केही प्रतिनिधि उदाहरण दिन चाहन्छु । २०६३ मा शान्ति सम्झौता भयो । तर कमरेड प्रचण्डले पहिलो संविधानसभामा प्राप्त मतलाई सत्ता कब्जा गर्न प्रयोग गर्नुभयो, जुन असफल भयो ।

त्यसपछि पहिचानको राजनीतिको बिगबिगी चल्यो । यस्तो अवस्था भयो कि ५१ प्रतिशत जनसंख्या भएको तराईमा एक मधेश एक प्रदेश, ४९ प्रतिशत जनसंख्या भएको पहाडमा जातीय पहिचानको आधारमा १४ प्रदेश । कल्पना गर्नुस्, यो कार्यान्वयन भएको भए देशको अवस्था कस्तो हुन्थ्यो ?

संविधान बनाउनु भनेको कुनै देशको सार्वभौम सत्ताको सर्वाेच्च अभिव्यक्ति हो, तर हामीले संविधान निर्माण गरिसक्दा बाहिरी पक्ष आएर संविधान घोषणा गर्न पाइँदैन भनेर विरोध गरेको देख्यौं । त्यसको प्रतिरोधको केन्द्रमा एमाले थियो ।

नाकाबन्दीमा हामीले खेलेको भूमिकाबारे सबैलाई थाहै छ । त्यसपछि हामी सरकारमा आयौं । यति ठूलो राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक रुपान्तरणमा नलैजाने हो र गणतन्त्र, लोकतन्त्र र सामाजिक न्यायलाई व्यवहारमा कार्यान्वयन नगर्ने हो भने परिवर्तन सार्थक हुन सक्दैन भनेर हामीले सामाजिक न्यायमा केन्द्रित भएर काम अघि बढाउन खोज्यौं । एकदमै गजब गर्‍यौं भन्ने दावा छैन, तर यत्ति भन्न सक्छु, गएको तीन वर्षमा नेपाली जनताको आत्मविश्वास निकै बढायौं । केही इन्डिकेटरमा काफी सुधार गर्‍यौं ।

हाम्रो यो धारलाई उल्टाउन चाहनेहरु समानन्तर रुपमा क्रियाशील र मौकाको पर्खाइमा थिए । नेकपा भित्रका केही पात्र जो, अस्थिरताका सदाबहार सम्बाहक हुन्, उनीहरुलाई प्रयोग गरेरै आजको अवस्था ल्याइएको हो । त्यसैले यसलाई आन्तरिक कारणमात्रै मान्नु हुँदैन भन्ने म ठान्दछु ।

ती पात्रहरु को हुन् ?

देखिएकै पात्रहरु हुनुहुन्छ । कमरेड प्रचण्ड मूलतः यो अस्थिरताको जड हुनुहुन्छ । उहाँको युद्वकालीन ट्याक्टिसबारे म बोल्न चाहन्न । शान्तिकालमा सबैले देख्ने गरी भएका केही उदाहरणले त्यसलाई प्रष्ट पार्छ भन्ने लाग्छ ।

संविधानसभा निर्वाचनअघि गिरिजाप्रसाद कोइरालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउने सहमति उहाँहरुबीच भयो । त्यसमा गिरिजाबाबु यति धेरै ढुक्क हुनुभयो कि पहिलो संविधानसभा निर्वाचनमा उहाँ आफ्नो पार्टीको पक्षमा भोट माग्न समेत जानुभएन । तर, चुनाव पछाडि प्रचण्डले धोका दिनुभयो ।

भोलि विहान ११ बजेसम्म राष्ट्रपतिको नाम मनोनयन गर्ने समय छ, अघिल्लो दिनसम्म माधव नेपाललाई उम्मेदवार बनाउने भनिएको छ । साढे १० बजे झलनाथ खनाललाई कार्यालयमा बोलाएर हामी माधव नेपाललाई समर्थन दिन सक्दैनौं भन्नुभयो ।

अघिल्लो कार्यकालमा केपी ओली प्रधानमन्त्री रहँदा संयुक्त सरकार थियो, नाकाबन्दीको सामना गरिएको थियो, चीनसँग सम्भावनाको ढोका खोलिएको थियो । नेपाली जनतामा आत्मविश्वास बढेको थियो ।

प्रचण्ड आफैंले बनाएको सरकारविरुद्ध अविश्वासको प्रस्ताव राखेर कांग्रेससँग मिल्नुभयो । लिनुपर्ने सबै लाभ लिनुभयो, छोरीलाई मेयर जिताउन मत पत्र च्यात्नुभयो । यता सरकारमा हुनुहुन्छ, उता रातारात पार्टी एकताको घोषणा गर्दै चुनावी गठबन्धन बनाउनुभयो । अहिले फेरि नेकपाबाट बाहिरिनुभएको छ ।

हिजो कांग्रेस अग्रगतिको बाधक हो, हामी परिवर्ततको संवाहक हामी हौं भन्ने घोषणपत्र लिएर जनतामाझ जानुभयो । आज त्यही कांग्रेसलाई अघि सार्नुभएको छ । यस्तो अस्थिरता कमरेड प्रचण्डमा छ । उहाँले यसलाई आफ्नो गतिशीलता ठान्नुहुन्छ होला, तर राजनीति ‘युज एण्ड थ्रो’को मात्रै चिज होइन । क्रान्तिको केही मूल्य र विधि छन् । उपभोक्तावादमा हुने मान्यता फरक हुन् । यस हिसाबले केही पात्रहरु खडा हुँदा एमाले यो अवस्थामा आइपुगेको हो ।

सरकार बनाउँदा आलोपालोको सहमति गर्नुभयो, तर केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि पालना गर्नुभएन । प्रचण्डको नजरले हेर्दा ओली आफैंले गरेको सहमतिमा इमान्दार देखिनु भएन नि, होइन र ?

तपाईंले आंशिक सत्य भन्नुभयो । अघिल्लो कार्यकालको कुरा गर्दा २०७२ असोजदेखि ०७४ मंसिरसम्मको अवधिमा दुईटा पार्टी मिलेर सरकारको नेतृत्व गर्ने सहमति भएको सत्य हो ।

तर एउटा बजेट पनि ल्याउन नपाउँदै, अझ त्यसको सन्दर्भ हेर्नुहुन्छ भने बडो अनौठो ठान्नुहुन्छ, माघसम्म नाकाबन्दीको सामना गर्‍यौं । कामरेड ओली फाुगनमा भारत भ्रमणमा निस्किनुभयो, लगत्तै चीन भ्रमणमा यातायात पारवहन सम्झौता भयो । सरकार परिवर्तन गर्ने खेल त्यही विन्दुबाट सुरु भयो । बजेट त कुशलताबाट आएको हो, बजेटअघि नै सरकार जाने स्थिति थियो । तपाईंलाई लाग्छ, इतिहासमा यस्तो अप्ठ्यारो कालखण्डबाट गुज्रेको सरकारलाई पाँच महिनामै हटाउन खोज्नु राजनीतिक नैतिकता थियो ?

त्यतिखेर प्रधानमन्त्री ओलीले सरकार परिवर्तन गरौँला, यही गठबन्धनलाई चुनावी मोर्चा कायम गरौं भन्दा पनि प्रचण्डले मान्नुभएन । कांग्रेससँग मिलेर संविधान संशोधन, प्रदेशहरुका सीमा हेरफेर लगायतका काम गर्नैपर्ने भनेर जानुभयो ।

पछिल्लो पटक पनि सुरुमा आलोपालोको सम्झौता भएकै हो । ०७६ मंसिरमा प्रचण्ड स्वयंले आलोपालो सरकार लोकप्रिय भएन, अस्थिरतालाई जनताले मन पराएनन् । तपाईं नै पाँच वर्ष सरकार चलाउनुस्, म पार्टीमा कार्यकारी जिम्मेवारीसहित जान्छु भन्नुभयो र मंसिरमा केन्द्रीय सचिवालयले कार्यविभाजन गर्‍यो । ०७७ चैतको अन्तिम साताका लागि पार्टीको एकता महाधिवेशन तय गरिएको थियो ।

एकता महाधिवेशनमा कमरेड प्रचण्डलाई एकल अध्यक्ष बनाउने भनेर उहाँहरुबीच पटकपटक लिखित सम्झौता भएको छ । त्यति पनि कुर्न नसकेर असारमै अध्यक्ष र प्रधानमन्त्री दुबैबाट छोड्नुस् भन्नुभयो । नेपालको नयाँ नक्सा प्रकाशन गरेको एक हप्तापछिको स्थायी कमिटी बैठकमा दुबै पदबाट राजीनामा गर्नुभयो र कात्तिकमा १९ पेजको आरोपपत्र बुझाउनुभयो । एकता महाधिवेशनसम्म अगाडि बढेको भए पार्टी बेग्लै हुन्थ्यो । तर उहाँले त्यो हतारो किन गर्नुभयो ? यो कोणबाट पनि हेर्नुपर्छ भन्ने लाग्छ ।

तपाईंहरुलाई सुन्दा जे–जे कमजोरी भयो, ती सब अहिले पार्टीमा नभएकाहरुले गरेका हुन् । तपाईंहरु चाहिँ चोखो भने जस्तो सुनिन्छ । त्यस्तो हो र ?

कैयौं चिज भन्न पर्दैन, तस्वीर आफैं बोल्छ नि । सत्य यही हो कि नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरताको एउटा चक्रव्यूह चल्दै आएको छ । म केपी ओली या एमालेको फ्रेममा मात्रै घटनाक्रमलाई हेर्दिन । वीपी कोइरालाको दुईतिहाईभन्दा बढी मतसहितको सरकार किन टिक्न सकेन होला ? नेपाली कांग्रेसले ४८ सालमा पाएको बहुमत किन गुम्ने अवस्था आयो ? ५६ मा बहुमत पाएको कांग्रेसले बर्षैपिच्छे प्रधानमन्त्री फेरेर किन लोकतन्त्र नै गुम्ने अवस्थामा पुग्यो होला ? यो फ्रेमबाट हेर्नुभयो भने नेपाली राजनीतिका ‘अन्डरकरेन्ट’हरु बुझ्न सक्नुहोला ।

अहिले त यस्तो भाष्य निर्माण गर्न खोजिएको छ कि ‘एभ्रिथिङ इज फेयर इन वार अगेन्स्ट केपी ओली ।’ ओलीविरुद्ध गरिने हरेक हर्कत उचित भन्ने परिस्थिति बनाउन खोजिँदैछ । यसबाट त केपी ओली नहुँदासम्म देशमा रामराज्य थियो भन्ने ठाउँमा पुगिएला ।

व्यक्तिका रुपमा केपी ओलीले अझ धेरै समेट्नुपर्थ्यो, अझ धेरै सम्वाद गर्नुपर्थ्यो, अझ धेरै लचिलो हुनुपर्छ भन्ने ठाउँ होला । तर कुनै राजनीतिक संस्थाका प्रतिनिधिलाई चित्त बुझेन भन्दैमा बाटैमा घेराबन्दी र राजीनामा गराउन हुन्न ।

महाधिवेशनबाट आएको भए महाधिवेशनबाट हटाउनुपर्‍यो, निर्वाचनबाट आएको भए निर्वाचनबाट हटाउनुपर्‍यो, संसद्‍बाट चुनिएको भए संसद्‍बाट हटाउनुपर्‍यो, संवैधानिक परिषद्ले नियुक्त गरेको भए त्यही बाटोबाट हटाउनुपर्‍यो ।  मान्छे आउने र जाने निश्चित विधि हुन्छ, त्यसको पालना गर्नुपर्छ । सहज ढंगले मुलुक चलिरहेको छ, नेतृत्व हस्तान्तरण औपचारिक रुपमा गर्छु भनेकै छ भने यही रुपमा हेर्नुपर्ला ।

कसैले दूधले नुहाएको र ननुहाएको भन्ने प्रश्न होइन । मुलुकलाई स्थिर बन्न नदिने श्रृङ्खला लामो समयदेखि छ । त्यसैको फ्रेममा राखेर हेर्न आग्रह गर्छु ।

पार्टी, राजनीति र सत्ताको ऐजेरुका रुपमा हेर्नुभएको नेताहरु अब एमालेमा छैनन् । अब त एमाले शान्त भयो होला, होइन ?

(हाँसो) प्रश्नको व्यंग्य मैले बुझेँ । पार्टीमा जीवन्तता चाहिन्छ । पार्टीभित्र विभिन्न विचार हुन्छन् । नेकपा (एमाले) जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने पार्टी हो, जसले जनवादमा मात्रै नभई समाजवादमा जाँदासम्म पनि बहुलता चाहन्छ । बहुदलीय प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्छ ।

समाजको बहुलतालाई स्वीकार गर्ने र पार्टीभित्र पनि भिन्न मत हुन सक्छन्, तिनीहरुबीच छलफल चलाउँदै अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा विश्वास राख्छौं हामी । यसो भन्दैमा कम्युनिष्ट पार्टी वादविवादको क्लब चाहिँ होइन । एउटा अवस्था र प्रसंगमा छलफल हुन्छ, सके सहमतिमा पुग्छौं, होइन भने बहुमतको आधारमा फैसला गर्छौं । त्यही निर्णय बोकेर कार्यान्वयनमा जान्छौं । कार्यान्वयनमा सर्तहरु हुँदैनन्, निःशर्त गरिन्छ ।

कहिलेकाहीँ सर्वसम्मतिले गरिएका निर्णय पनि गलत ठहरिन सक्छ । त्यस्ता निर्णयमा सधैंभर सहमति हुन्छ भन्ने पनि होइन । कहिलेकाहीँ बहुमतले गरेको निर्णय पनि बदर हुनसक्छ । झापा आन्दोलन, कोके (तत्कालिन कोअर्डिनेसन केन्द्र) कालमा मणिलाल राई सधैंभरि अल्पमतमा पर्नुभयो, तर समयक्रमले उहाँको विचार सही रहेछ भन्ने पुष्टि गर्‍यो ।

माले र मार्क्सवादी एकीकरणपछि एमाले बन्दा स्थायी कमिटीमा जबजबारे मदन भण्डारी अल्पमतमा पर्नुभयो, महाधिवेशनसम्म आइपुग्दा त्यो अत्यधिक बहुमतले पारित भयो । यस्तो चल्छ, तर पार्टी सधैं झगडाको थलो बन्नु हुँदैन ।

तपाईंले हेर्नुहुन्छ भने हाम्रा ७० प्रतिशत भन्दा बढी छलफल नितान्त निजी कुरामा केन्द्रित भए । व्यक्तिका मान–अपमानका कुरा भए । प्यानल खडा गरेर चुनाव जित्ने कुरा भए । त्यो प्रवृत्तिका मान्छेहरु बाहिरिएपछि पार्टी शान्त छ । शान्त पार्टीमा छलफल र विचार विमर्श हुँदैन भन्ने चाहिँ होइन ।

अहिले ओलीको एक छत्र छ, उनलाई चुनौती दिने कोही पनि छैन भन्ने भाष्य निर्माण गरिँदैछ । त्यस्तो होइन । साथीहरुले आफ्नो कुरा राखिरहनु भएको छ, त्यसमा पार्टी कन्भिन्स नभएको मात्र हो । पार्टीले एउटा निर्णय गरेको छ । कतिपय साथीको भिन्न कोणलाई हामीले सम्मान गर्नुपर्छ ।

कोके कालकै नेताहरु अहिले पनि पार्टीमा छन्, तर विकल्पमा त कोही आउन सकेनन् नि ?

निर्विकल्प कोही पनि हुँदैनन्, तर हामी सापेक्षतामा हेर्नुपर्छ । १० औं महाधिवेशनमा केपी ओलीको दुई कारणले निर्विकल्प हुनुहुन्छ । पहिलो, नवौं महाधिवेशनमा उहाँले गर्नुभएको वाचाहरु र प्रधानमन्त्रीका रुपमा गर्नुभएको संकल्पहरु विभिन्न कारणले पूरा हुन पाएन । यद्यपि नवौं महाधिवेशनका तोकेको १३–१४ वटा प्रमुख कार्यभार करीबकरीब शतप्रतिशत पूरा गर्‍यौं । तर जस्तो पार्टी बनाउँछु भन्ने उहाँको सोच थियो, पार्टी एकीकरण गरेपनि त्यो पूरा हुन सकेन ।

दोस्रो, प्रधानमन्त्रीका रुपमा तीन वर्ष मात्रै काम गर्न पाउनुभयो, दुई वर्ष गुम्यो । यी कुराले आम कार्यकर्ताको चाहना केपी ओलीलाई एकचोटी पूरा कार्यकाल दिनुपर्छ भन्ने छ । यसलाई निर्विकल्प भन्दा पनि सापेक्षतामा हेर्नुपर्छ ।

जसले बिगार्‍यो, उसैले बनाओस् भन्ने तर्क चाहिँ पनि होला हैन ?

(हाँसो…) २०६४ सालको संविधानसभा निर्वाचनमा नेताहरुलाई दुई वा दुई भन्दा बढी क्षेत्रमा लड्न पाउने सुविधा थियो । हामी सरकारमा भएर चुनाव लड्दा २४० निर्वाचन क्षेत्रमध्ये एमालेले जितेको ३३ सिट हो । त्यो ठाउँमा पुगेको थियो, पार्टी ।

टुडिँखेलबाट खुलेआम हामीले सुन्नुपर्थ्यो, एमालेको लिंग कुन हो ? भाले हो कि पोथी ? देशमा काँग्रेस र माओवादी छ, एमाले कुन कित्तामा लाग्छ, छुट्याउनुपर्यो भनिन्थ्यो । आज एमाले राष्ट्रिय राजनीतिको केन्द्रमा छ । हामीले झण्डै दुईतिहाइ जनमत प्राप्त गर्‍यौं । जोगिन सकेन, त्यो बेग्लै कुरा हो । तर म तथ्याङ्कमा कुरा गर्न सक्छु, ओली नेतृत्वको सरकारले जनतालाई शीरमा राखेर दुरगामी महत्वको कामहरु गरेको छ ।

अहिले ओलीलाई समर्थन गर्न गाह्रो छ, किनकी उनकै विरोध गरेर राजनीति प्रमाणित गर्नुपर्ने छ । तर इतिहासले मूल्याङ्कन गर्नेछ । त्यसैले बिगारेकाले सच्याउन होइन, राम्रो काम गरेकाले त्यसलाई निरन्तरताका लागि उहाँको नेतृत्व जरुरी छ भनिएको हो ।

यी सबै दुर्घटनाको प्रमुख कारण संसद् विघटन थियो । शुरुमा तपाईंले पनि विरोध जनाउनुभएको थियो नि ?

हो, मन्त्रिपरिषद्‍मा संवैधानिकता र राजनीतिक दृष्टिले (संसद् विघटनको) औचित्य पुष्टि गर्न सक्छौं कि सक्दैनौं ? भनेर प्रधानमन्त्रीसमक्ष कुरा उठाएको थिएँ । तर घटनाक्रमले कस्तो देखायो भने हामीसँग दुई वटा मात्रै विकल्प रहेछ । प्रतिनिधिसभा विघटन नभएको भए, प्रचण्डले बेलामौकामा भन्नुहुन्छ नि पार्टी कब्जा, मुलुक त्यही बाटोमा जान्थ्यो ।

पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउने, दलको नेताबाट विस्थापन गर्ने र पार्टी विल्कुलै गलत नेतृत्वमा जाने सबै तारतम्य मिलेको स्थितिमा बाध्यातात्मक कदमका रुपमा संसद विघटनको घटना विकसित भएको मूल्याङ्कन हामीले गरेका छौं ।

हामीले संविधान बनाइरहँदा राजनीतिक स्थिरतालाई संसद्को स्थिरताको पर्याय जस्तो बनायौं । जे गरेर भएपनि संसद् चाहिँ पाँच वर्ष टिक्नुपर्छ भन्यौं । त्यसो गर्दा सरकार बलियो हुन्छ कि कमजोर हुन्छ ? कार्यकारी कमजोर भएर राज्य बलियो कसरी हुने होला ? भन्नेतर्फ हाम्रो पर्याप्त ध्यान गएनछ ।

आफ्नो मान्यता र अडानबाट पछि हट्नुको प्रमुख कारण प्रचण्डले पार्टी कब्जा गर्ला कि भन्ने नै हो ?

मान्यताबाट पछि हटे कि हटिनँ भन्ने कुरा गर्दिनँ । संवैधानिक दृष्टिले प्रधानमन्त्रीले संसद् विघटन गर्ने ठाउँ छैन, त्यो सत्य हो । यद्यपि हामीले अवलम्बन गरेको संसदीय प्रणालीले प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा संसद् विघटनको ठाउँ दिन्छ ।

संसारभर यो अभ्यास छ । तर हामीले संविधान बनाउँदा २०४८ देखि २०७२ सम्मको अभ्यासलाई हेरेर संसद्को स्थायित्वलाई प्राथमिकता दियौं । संसद् विघटन गर्नै नसक्ने अवस्था बनायौं । संविधानको अक्षरहरु हेर्दा (ओलीले गरेको) संसद् विघटनलाई संविधानले चिनेको थिएन । मूलतः यो राजनीतिक निर्णय थियो, जसमा मेरो केही प्रश्नहरु थिए ।

यसको त समयक्रममा थप समीक्षा होला, एमालेकै महाधिवेशनमै फर्किँदा चाहिँ अध्यक्षमा केपी ओली निर्विकल्प भनिँदैछ, त्यस बाहेकमा कस्तो तयारी हुँदैछ ?

यो विषयमा छलफल गर्न पाएका छैनौं । विधान महाधिवेशन सकेर फर्कदा लगभग दशैं शुरु भइसकेको थियो । कात्तिक ६ र ९ गते वडा र पालिका अधिवेशन गर्‍यौं । फेरि तिहार आयो । अब छलफल गर्छौं । पार्टी नेतृत्व सहमतिको आधारमा होओस् भन्ने अधिकतम प्रयास हुनेछ । तर पदाधिकारी संख्या सीमित छ, योग्य र आकांक्षी साथीहरु निकै धेरै हुनुहुन्छ ।

बेग्लाबेग्लै मनोविज्ञान पनि छ । एमालेको मूल धारमा रहेको एउटा नेतृत्व छ, प्रचण्डले अलग पार्टी ब्यूताउँदा पनि एमाले रोजेका पूर्वमाओवादी कमरेडहरु हुनुहुन्छ । १० बुँदे गर्दै पार्टीको मूलधारमा जोडिनु भएको कमरेडहरु पनि हुनुहुन्छ । यो सबै मनोविज्ञान लिएर जाँदा नै एमाले बलियो बन्छ ।

अध्यक्षले सहमतिबाट जाऊँ, फलानोलाई यो पद, फलानोलाई यो पद भन्दा तपाईं त मान्नु होला नि ?

तपाईंलाई त्यस्तो लाग्छ ? मैले जुलुसको नेतृत्व गर्दा नौ वर्षको रहेछु पञ्चायत कालमा । गुल्मी–पाल्पा संयुक्त जिल्ला कमिटीको सदस्य हुँदा १६ वर्षको रहेछु । ४३ वर्ष त पूर्णकालीन जीवन बितेको छ । म भन्दा लामो इतिहास भएको नेताहरु पनि हुनुहुन्छ । उहाँहरुले आफ्नो विवेक, तर्कहरु राख्नुहुन्न भन्ने भ्रम पालेर नेपाली मिडिया कसरी बाँचिरहेको छ ? म छक्क पर्छु !

निश्चय नै संकटको बेला आन्तरिक जनवादभन्दा केन्द्रीयता अलिक बढी हुन्छ । त्यो सापेक्ष कुरा हो । तर पर्याप्त बहस र छलफल हुन्छ । नेतालाई पर्याप्त सहयोग पनि गरिन्छ र सुझाव पनि दिइन्छ । त्यसरी बुझ्नुपर्छ भन्ने म ठान्छु ।

नवौं महाधिवेशनमा केपी ओलीको मूल एजेण्डा पुस्तान्तरण थियो । कक्षा दोहोर्‍याइदिन भनेर बारम्बार भन्नुभयो । अहिले उहाँको चाहना अनुसार ७० वर्ष पार नगरेको भन्ने व्याख्या गरेर मंसिरमा महाधिवेशन जसरी पनि गर्नेतिर लाग्नु भएको त सत्य हो नि ?

मंसिरमा महाधिवेशन र ७० वर्षे उमेर हदको कुनै साइनो सम्बन्ध छैन । यो ढंगले छिन्द्रान्वेषी नबस्नुस् भन्ने मेरो आग्रह छ ।

हामी नेपाली कांग्रेस होइन । विधानमा चार वर्ष लेखेको छ । संविधानमा लेखेको पाँच वर्ष प्रयोग गरेर अर्को ६ महिना थपेर पनि (महाधिवेशन गर्न नसकेपछि) टिकिरहनुपर्छ भन्ने मान्यता राख्दैनौं । हामीसँग कोही दाहिना पनि छैन, तोकेको समयमा सम्पन्न गरिसक्नुपर्छ । त्यसैले मंसिरको महाधिवेशन र केपी ओलीको जन्मदिनको कथा आख्यानमा काम लाग्छ, मिडियामा काम लाग्दैन ।

दोस्रो, ७० वर्षको विषय फेरेका छैनौं, व्याख्या मात्रै गरेका हौं । यो केपी ओलीको हकमा मात्रै होइन, सबैको हकमा लागू हुने हो । नेकपा नबनेको र २०७६ मै एमालेको महाधिवेशन हुन्थ्यो भने परिदृश्य फरक हुन्थ्यो होला । तर अहिले केपी ओली अनि उनी नेतृत्वको एमाले एकातिर र बाँकी त सबै एकैठाउँ हुनुहुन्छ । राजनीतिक दलहरु हुनु स्वाभाविकै हो । दलहरुमा पनि संघीयता खारेज हुनुपर्छ भन्ने चित्रबहादुरदेखि सातले पुग्दैन, १४ प्रदेश बनाउनुपर्छ भन्ने उपेन्द्र यादव पनि एकैठाउँमा हुनुहुन्छ । संविधान रक्षाको सबै काम गर्‍यौं भन्ने शेरबहादुर देउवा र संविधान नै काम लाग्दैन भन्ने उपेन्द्र यादव एकै ठाउँमा हुनुहुन्छ ।

यतिले नपुगेर श्री ५ हरुलाई पनि मिलाउनुपर्‍यो । त्यो मिलाउँदा नमिलेर भद्रगोल भएर बाहिर निस्किएको छ । त्यतिले नपुगेर भूतपूर्व श्रीमान् ५ हरु पनि जोडिन भएको छ । कहिलेकाहीँ भीसीहरु पनि जोडिन पुग्नु भएको देखिनुहुन्छ । वक्तव्यबाजी गर्नका लागि मिडियाका १२–१४ भाइ, बहिनी पनि हुनुहुन्छ कि थाहा छैन, हुनुहुन्छ । एमालेविरुद्ध यत्रो ठूलो मोर्चाबन्दी छ । यो विशेष चुनौतीपूर्ण अवस्थामा केपी ओलीको आवश्यकता परेको हो ।

एमालेकै विरुद्धमा यस्तो मोर्चाबन्दी किन भयो त ? यो पनि त सोच्नु पर्ला नि त ?

महिलामाथि किन बलात्कार हुन्छ भन्दा उसले छोटो लुगा लगाएर हिँड्छ भनेजस्तो भयो के तपाईँको प्रश्न । मैले भनिरहेको छु, एमालेको नेतृत्वमा केही कोर्सहरु निर्माण गर्‍यौं, जुन अरुलाई मनै परेन । बजारमा एउटा पुस्तक बहुतै चर्चित छ, एक जना पूर्व कूटनीतिज्ञले काठमाडौंको अनुभव समेटेका छन् । त्यसमा उनले भनेका छन्– एकदिन फोन आयो, तीन जना एआईजीमध्ये कसलाई आईजी बनाउने ? सुझाव कि के भनेका छन् । त्यो अवस्था थियो कुनैबेला । तपाईंले देख्नु वा नदेख्नु फरक कुरा हो, तर हामीले त्यसलाई रोकेका छौं ।

यो रोकेको मन पर्दैन, कतिपयलाई । उनीहरुलाई सधैंभरि यहाँ पानी धमिलिएको हुनुपर्छ, माछा मार्न पाइरहेको हुनुपर्छ । यसका लागि बाह्य शक्तिलाई मात्रै दोष दिन्नँ । मार्टिन लुथर किंगले भनेको कुरा खुब घत लाग्छ । उनी भन्छन्– तिमी ननिहुरिएसम्म कोही बुई चढ्न सक्दैन । जब हामी निहुरी पर्छौं, बुई त चढ्ने नै भइहाल्यो नि ।

तपाईंले श्रीमान ५ पनि एमालेविरुद्ध भन्नुभयो । न्यायालयमा राजनीति घुसाएको त एमालेले पनि होइन र ?

०४८ सालमा नेकपा एमाले सरकार थिएन । न्यायालयमा राजनीतिकरणको शुरुवात तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायबाट सुरु भयो । संरचनागत कुरामा एमाले पनि दोषी होला । छ भने हाम्रो भागमा परेको दोष बोक्न तयार छौं ।

संरचनागत रुपमा केही न केही राजनीतिक छाप पर्छ । जस्तो– न्याय परिषदमा तीन जना राजनीतिज्ञ छन्, कानूनमन्त्री, सरकारले तोकेको अधिवक्ता र बारले चुनेको अधिवक्ता । यसैबाट सुरु हुन्छ समस्या । पछि न्यायाधीशमा भागबण्डाको क्रम चलेको छ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीले नै भन्नुभएको छ, कसको कसको उपस्थितिमा न्यायाधीश चयन गरियो ।

संरचनामा सुधार गरौंं, एमाले न्यायालय सुधारका लागि संविधान र कानून संशोधन गर्न तयार छ । सुनुवाई व्यवहारिक छैन भने त्यो पनि हेरौं । न्यायालय न्यायालय जस्तो हुनुपर्‍यो ।

पार्टीले पनि यसरी नै हेरेको छ ?

विल्कुल । अहिले न्यायालयमा चलिरहेको कुरा दूर्भाग्यपुर्ण छ । न्यायालय संवेदनशील अंग हो । कार्यपालिकाले गल्ती गर्दा सच्याउने ठाउँ छ, संसदले सच्याउन सक्छ । संसदले गल्ती गरे सर्वभौम जनताले सच्याउँछ । न्यायालयले गल्ती गरे कहाँबाट सच्याउने ? व्यक्तिको हकमा महाअभियोग होला, तर सिंगो न्यायालय प्रदूषित भए सच्याउने ठाउँ छैन ।

दोस्रो, न्यायाधीश र वरिष्ठ अधिवक्ताहरुले गरेको काम विल्कुल गलत छ । जनताको न्यायिक अधिकार पाउने अधिकारमा यसरी खेलवाड गर्न पाइन्न । उहाँहरुको स्वार्थमा नागरिकको मौलिक अधिकार (बन्दी प्रत्यक्षीकरण त संकटकालमा पनि रोक्न पाइन्न) रोकेर हामीलाई विधिको शिक्षा हामीलाई दिन मिल्दैन ।

तेस्रो– अहिलेको आन्दोलनमा न्यायालय सुधारको एजेण्डा नै छैन । यो स्वार्थहरुको विवाद हो । प्रधानन्यायाधीश बन्ने रोलक्रममा नरहेकाहरुको स्वार्थ छ यसमा । केही वरिष्ठ अधिवक्ताहरु, जो मुद्दा सेटिङमा खप्पिस छन्, उनीहरुलाई लागेको छ, यसरी तस्र्याएपछि सबै तर्सन्छन् । हिजो त्यस्तै भयो, संवैधानिक इजलासमा उहाँले भनेको मान्छे बस्न पाउने, उहाँले नभनेको मान्छे नबस्ने । यसले पनि उहाँको मनोबल बढेको छ ।

कस्तो दुःखद भने अस्ति बार एशोएसिएसनको सल्लाहकार बैठकमा ‘बोराका बोरा पैसा बुझाइयो, फलानाले मुद्दा जिताएन’ भनियो । घुस लिन्या र दिन्या उत्तिकै दोषी हुन् । उनीहरुलाई कारबाही पर्नु पर्छ कि पर्दैन ?

तेस्रो, न्यायालयलाई सन्त्रासको छायाँमा राखे आफ्नोविरुद्ध फैसला गर्ने आँट गर्दैनन् । मुद्दा त छ– ललिता निवास, क्यान्टोनमेन्ट आदिका । होइन भने, हरिकृष्ण कार्की नेतृत्वको कार्यदलको सुझाव तुरुन्त कार्यान्वयन गर्ने पहिलो एजेण्डा हुन्थ्यो । अनि अदालतमा घुस चल्छ, इजलास गोलाप्रथामा जाऔं भन्ने हुन्थ्यो ।

प्रधानन्यायाधीशले गतिलो गर्नुभयो भन्ने होइन । व्यक्तिका रुपमा पर्याप्त आलोचना छ । नेकपा (एमाले)को सरकारलाई उहाँले जति अप्ठ्यारो कसैले पारेन । देशमा कोरोना उत्कर्षमा पुगेको छ, स्वास्थ्यमन्त्री राख्न पाउँदैनस् भन्ने फैसला त उहाँले नै गर्नुभएको हो । यस्तो लामो लिष्ट दिन सक्छु ।

प्रधानन्यायाधीश नियुक्त गर्दा नै दुईतिहाइको त्रास देखाएकाले चोलेन्द्रशम्शेर जबराले तपाईहरुसँग मिलेर काम गर्नुभयो, संवैधानिक परिषदमा भागबण्डा लिनुभयो । त्यसबाट उहाँको महत्वकांक्षा बढ्यो भन्नेहरु पनि छन् नि ?

त्यसो भए त हरेक मुद्दा नेकपा (एमाले)को सरकारले जितेको हुनुपर्ने हो ।

अब समाधान चाहिं के त ?

पहिलो संविधानसभा विघटनपछि बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय गर्‍यौं । त्यसैको सहउत्पादन हो, लोकमानसिंह कार्की । त्यसैको परीणाम हो, सर्वोच्च अदालतमा वर्षौसम्म काम गरेका अब्बल दर्जाका अस्थायी न्यायाधीशहरुलाई विदा अनि गलत पात्रलाई स्वागत । यो विषयमा बहस गर्न अहिलेका साथीहरु तयार हुनुहुन्छ ?

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका