Tuesday, May 19, 2026
Homeराजनीतिएमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, सचिवालयले दियो सदस्यता

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, सचिवालयले दियो सदस्यता

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता प्रदान गरेको छ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यसअघि केन्द्रीय समितिबाट गरिएको सदस्यता रोक्ने निर्णय सच्याउँदै भण्डारीलाई पुनः पार्टीमा भित्र्याउने निर्णय गरेको हो।

एमाले केन्द्रीय समितिको २०८२ साउन ५ देखि ७ गतेसम्म बसेको बैठकले भण्डारीको सदस्यता रोक्ने निर्णय गरेको थियो। सोही निर्णय उल्ट्याउँदै सचिवालयले उनलाई सदस्यता दिने निर्णय गरेको जनाएको छ।

यसअघि आइतबार मात्रै एमालेले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई पहिलोपटक प्रमुख अतिथिका रूपमा औपचारिक कार्यक्रममा सहभागी गराएको थियो। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा उपस्थित भएकी थिइन्।

कार्यक्रममा एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट, महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई तथा अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

२०७९ फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किने संकेत दिएकी थिइन्। त्यसपछि उनले एमालेको सदस्यता नवीकरण प्रक्रिया अघि बढाएकी थिइन्। तर २०८२ साउन ६ गते अध्यक्ष ओली नेतृत्वको निर्णयबाट उनको सदस्यता रोकिएको थियो।

सदस्यता नपाएकै कारण भण्डारीले एमालेको ११औँ महाधिवेशनमा समेत सहभागिता जनाउन पाएकी थिइनन्।

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला भण्डारीलाई पुनः सदस्यता दिने निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीको कमजोर चुनावी नतिजा र आन्तरिक दबाबबीच बदलिएको राजनीतिक समीकरणसँग यो निर्णयलाई जोडेर विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका