काठमाडौं : एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ। यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्। नेपालले आइतबार बिहान ओलीसँग भेट गर्न अस्वीकार गरेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ निवर्तमान सांसदले गरेको हस्ताक्षरबाहेक अन्य विषयमा सहमति भइसकेको दुवै तर्फका मध्यमार्गी नेताले बताइरहेका छन्। हस्ताक्षर फिर्ता हुने वा नहुने भन्ने विषयमा बीच बाटो अख्तियार गर्ने विषयमा छलफल केन्द्रित भएको ती नेता बताउँछन्। तर, इगोका कारण अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच टेलिफोन संवाद गराउन ठूलै कसरत गर्नुपर्यो। उनीहरू अध्यक्ष ओलीलाई २०७५ जेठ २ मा फर्काउन सफल भए। उनीहरूकै प्रयासमा दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भयो। वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनालसहित ११ जनालाई गरिएको निष्कासनको कारबाही निष्प्रभावी भयो।
अध्यक्ष ओली लचिलो बने। वरिष्ठ नेपालले भने ओलीसँग भेट गर्न अस्वीकार गरिरहेका छन्। नेपालले बिहीबार राति अध्यक्ष ओलीले गरेको फोन अरू नेताको मन राखिदिन उठाएको बताउँदै आएका छन्। फोन वार्ता सौहार्दपूर्ण नभएको ओलीले बताइसकेका छन्। यी दुई शीर्ष नेताबीच शनिबार उपमहासचिव घनश्याम भुसालको फोनमा कुराकानी भयो। आफू त्यति लचिलो हुँदा पनि हस्ताक्षर फिर्ताको विषयमा नेपाल टसमस नभएपछि ओली रुष्ट भएका छन्।
उपाध्यक्ष वामदेव गौतमले ओली र नेपालबीचको रिसइबी गहिरो रहेको बताएका छन्। राष्ट्रियसभा बैठकपछि उपाध्यक्ष गौतमले ओली र नेपालको रिस शिथिल नभएसम्म पार्टी एकता नहुने बताएका हुन्। दुई शीर्ष नेताको रिस उनीहरू मातहत रहेका नेताको चिन्ताले घटाउन नसक्ने गौतमको भनाइ छ। ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्ष्य गर्दै गौतमले मातहतका नेताको चिन्ताले काम नगर्ने प्रस्ट पारे।
‘माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीसँग। केपी ओली पनि माधव नेपालसँग बेस्सरी रिसाउनुभएको छ’, गौतमले भने, ‘दुई जनाको रिस नमर्दासम्म उहाँहरूको मातहतमा रहेका साथीहरूको चिन्ताले पनि काम गर्दैन।’
उनले अहिले आफू दुवै नेताको रिसलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए। ‘म दुई जनाकै रिसलाई कसरी शिथिल बनाउन सकिन्छ ? हो त्यतातिर लागिराखेको छु’, उनले भने।
उनले रिस शिथिल भएपछि एकता हुने विश्वास व्यक्त गरे। सँगै उनले एकता दुई नेताको रिसका कारण अहिले सम्भव नभएको तर सर्वोच्च अदालतको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको प्रस्ट पारे। ‘अहिले एकता सम्भव नहोला’, उनले भने, ‘सर्वोच्च अदालतको निर्णय आएपछि एकता सम्भव होला भन्ने लाग्छ।’ उपमहासचिव विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन्। प्रधानमन्त्री ओलीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेपालले रुचि नदेखाएको नेता पौडेलको भनाइ छ। पौडेल आइतबार बिहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए।
पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताए। भने, ‘माधव कमरेडकहाँ गएका थियौं म, सुवासजी र शंकरजी भएर। उहाँसँग एकछिन कुराकानी भयो। हामीले पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔं भन्यौं। हाम्रा बीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन्, तपाईंहरू एकआपसमा बस्नुहोस् भन्यौं। उहाँले खास गरिकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो। भेट्ने कुरामा खासै रुचि राख्नुभएन। ठिकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौं।’
उपमहासचिव पौडेल, स्थायी समिति सदस्य सुवास नेम्बाङ र शंकर पोखरेलले आइतबार बिहान वरिष्ठ नेता नेपाल निवासमै नै पुगेर एकताको सन्देश दिन सयुक्त वक्तव्य निकाल्न प्रस्ताव गरेका थिए। उनीहरूको प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए। ‘ठिकै छ। कार्यदल छ, त्यसैलाई ब्युँत्याउँदा भइहाल्छ। तपाईंहरूले नै प्रस्ताव तयार पारेर ल्याउनुस्’ भन्दै भेटेर वार्ता गर्ने विषयमा खासै चासो नदिएको एक नेताले बताए। पौडेल, नेम्वाङ, र पोखरेलको साथमा नेपाल पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए।
नेपाल पक्षका नेता एवं पार्टी सचिव गोकर्ण विष्टले दुई नेताको इगो र टकरावले एकताका समस्या हुन नहुने बताएका छन्। ‘उहाँहरूबीचमा केही टकराव र इगो देखिएको छ। कतिपय अवस्थामा यो इगो र टकरावले पार्टी एकता नहुन महत्वपूर्ण कारक बनिरहेको छ’, नेता विष्टले भने, ‘लगभग अन्तिम अवस्थामा पुगेको थियो। एक पक्षीय बैठक बसेर एकतर्फी निर्णय भएपछि केही समस्या भएको छ। तर, छलफल जारी छ, म आशावादी छु।’
मध्यमार्गी नेताहरू ओली र नेपाल दुवै केही लचिलो हुँदै गएको बताउँछन्। ओली जेठ २ को अवस्था फर्किनु र नेपाल नयाँ पार्टी खोल्ने अभियान रोकिनु उपलब्धि भएको उनीहरूको भनाइ छ। शीर्ष नेताको इगो, रिस, टकराव र अन्तरविरोधका बाबजुत पनि एकताको विकल्प नरहेको उनीहरूको भनाइ छ।
नेपाल पक्षका नेता निरज आचार्यले एकताको प्रयास जारी नै रहेको बताए। मुख्य समस्या दुई नेताबीचको इगो नै भएको नेता आचार्यको ठम्याइ छ।
नेपालले आफूनिकट नेता÷कार्यकर्तालाई मान्छे भड्किने अभिव्यक्ति नदिन निर्देशन दिएका छन्। पार्टी एकताविरुद्ध कडा अभिव्यक्ति दिइरहेका जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, राजेन्द्र राईलगायत नेतालाई फोन गरेर उनले संयमित अभिव्यक्ति दिन सम्झाएका हुन्।
पार्टी एकताका लागि निरन्तर लागि रहेका उपमहासिचव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताको भूमिकालाई लिएर नेपाल पक्षकै अतिवादी नेताले आक्षेप लगाउँदै आएका थिए। केन्द्रीय कमिटी बैठकले सोमबार ५ बजेसम्म अदालतको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको थियो। नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने अडान लिएका छन्।


