काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ।
महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। उपाध्यक्ष तथा कार्यकारिणी समिति सदस्यका पदका लागि भने निर्वाचन हुन लागेको महासंघ निर्वाचन समितिले जनाएको छ।
नयाँ कार्यकारिणी समितिका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ। एकतर्फ भावी अध्यक्ष श्रेष्ठ समर्थित समूह छ भने अर्कोतर्फ उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा उत्रिएको छ।
श्रेष्ठ समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार औपचारिक रूपमा घोषणा नगरे पनि वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे लाई अघि सारेको छ। सोही समूहबाट कार्यकारिणी सदस्यमा कृष्णप्रसाद अवला र विश्वनाथ खनाल उम्मेदवार छन्। एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे उम्मेदवार बनेका छन्।
जिल्ला/नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा (सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही) र दिलसुन्दर श्रेष्ठ (धुलिखेल उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दिएका छन्।
यता ढकाल समूहबाट जिल्ला/नगर उपाध्यक्षमा उमेश डालमिया (झापा उद्योग वाणिज्य संघ) र कल्पना गैरे (दार्चुला उद्योग वाणिज्य संघ) उम्मेदवार छन्। यस समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ तथा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन्।
महासंघको नयाँ कार्यकारिणी समितिका लागि ७३ पदमा १३७ जना व्यवसायी उम्मेदवार बनेका छन्। मतदान आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म प्रज्ञा भवन मा हुँदै छ। मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।


