काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनित भएकी छन्।
संघको हालै सम्पन्न बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्षसमेत रहेकी थापालाई युरोप महिला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।
हाल पेरिसमा व्यवसाय र सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनप्रति युरोपभरिका नेपाली महिलाहरूले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन्। संघका अध्यक्ष महेश श्रेष्ठले संस्थाका गतिविधिमा प्रभावकारी सहभागिता जनाउँदै आएका साथै महिला सशक्तीकरणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप थापालाई उक्त जिम्मेवारी प्रदान गरिएको बताए।


