Sunday, November 8, 2026
Homeसामाचारएनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित, दुई पक्षीय विवादले निर्वाचन दुई मितिमा

एनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित, दुई पक्षीय विवादले निर्वाचन दुई मितिमा

अमेरिका, साउन ८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले आगामी जुलाई २७ र २८ मा निर्वाचन गर्ने घोषणा गरेको भए पनि अधिकांश पदमा एकल उम्मेदवारी परेपछि बुधबार सबै उम्मेदवारलाई निर्विरोध घोषणा गरिएको हो।

अध्यक्षमा विकास उप्रेती चयन भएका छन्। अन्य निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष प्रेम तामाङ, उपाध्यक्षहरू दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्ष शान्ति पौड्याल, युवा उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन्।

त्यसैगरी महासचिवमा रामचन्द्र पन्त, सचिव प्रचण्ड श्रेष्ठ, महिला सचिव सङ्गीता लामा लामिछाने, कोषाध्यक्ष कमल ढुङ्गाना, सहकोषाध्यक्ष मनोजकुमार ठगुन्ना, महिला संयोजक सावित्रा सिवाकोटी र युवा संयोजक आशिष सङ्ग्रौला निर्वाचित भएका छन्।

निर्वाचन प्रक्रिया सुरु भए पनि एनआरएनए अमेरिकामा दुई पक्षीय विवादका कारण निर्वाचनको मिति फरक–फरक तोकिएको छ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सँगको सहकार्य र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने भएपछि ICC ले विशेष निर्वाचन समिति गठन गरेको थियो। सो समितिको व्यवस्थापनमा निर्वाचन सम्पन्न भएको हो।

तर, वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षले सामाजिक संस्थाका रूपमा एनआरएनए अमेरिका अमेरिका सरकारमा दर्ता भएकाले ICC को निर्देशन बाध्यकारी नभएको दाबी गर्दै अगस्ट १७–१८ मा निर्वाचन गर्ने घोषणा गरेको छ।

यसरी नेतृत्व चयनमा दुई पक्षबीचको मतभेदका कारण गैरआवासीय नेपाली संघ अमेरिकामा निर्वाचन फरक मितिमा हुँदैछ। आन्तरिक विवाद र गुटबन्दीको असर निर्वाचन प्रक्रियामा स्पष्ट रूपमा देखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका