काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन आगामी अगष्टमा आयरल्यान्डको डब्लिनमा आयोजना हुने भएको छ ।
अगष्ट १० देखि १२ तारिखसम्म हुने सम्मेलनलाई ‘संकल्प’ नाम दिइएको छ । सम्मेलनको तयारी सुरु गरिएको जानकारी युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले दिएका छन् ।
आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले ‘डब्लिन डिक्लेरेसन’ जारी गर्ने मुख्य उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए । सम्मेलनमा विशेष गरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणका विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
सम्मेलनमा दोहोरो नागरिकता, नागरिकताको अधिकार, एनआरएन हेडक्वार्टर तथा गोर्खा भेट्रान्सको अधिकारका विषयमा पैरवी गरिनेछ । साथै, डायस्पोराको राजनीतिक तथा नागरिक सहभागिताबारे पनि बहस हुने बताइएको छ ।
विदेशमा रहेका नेपालीहरूको पुँजीलाई नेपालका जलविद्युत्, पर्यटन, कृषि र प्रविधि क्षेत्रमा कसरी परिचालन गर्ने भन्ने विषयमा विशेष छलफल हुने आयोजकले जनाएको छ । दीर्घकालीन आर्थिक वृद्धिलाई केन्द्रमा राखेर ‘२०३० एक्सन रोडम्याप’ तयार पारिने पनि बताइएको छ ।
सम्मेलनमा संस्थाभित्रको आन्तरिक लोकतन्त्र र संरचनात्मक सुधारका विषयमा पनि छलफल हुनेछ । सबै पञ्जीकृत सदस्यलाई मतदानको अधिकार दिने गरी डेलिगेट्स प्रणाली र भोटिङ प्रणालीमा सुधारबारे बहस हुने जनाइएको छ ।
युरोपमा सुरक्षित आप्रवासन, दोस्रो पुस्ताका युवाहरू र महिलाको सहभागिता तथा सशक्तीकरणलाई पनि सम्मेलनको मुख्य एजेन्डा बनाइएको छ ।
एनआरएनए आईसीसी अध्यक्ष डा. हेमराज शर्माले सबैको सहकार्यबाट सम्मेलन सफल हुने विश्वास व्यक्त गरेका छन् । महासचिव डा. चिरञ्जीवी खड्काले सम्मेलन पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न हुने बताएका छन् ।
भर्चुअल पत्रकार सम्मेलनको सहजीकरण युरोप महिला संयोजक बाबा राजेश्वरी थापाले गरेकी थिइन् ।


