Sunday, November 8, 2026
Homeसामाचारएनआरएनएको एकता प्रयास असफल

एनआरएनएको एकता प्रयास असफल

काठमाडौं, २५ असोज २०८२ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता प्रयास तत्कालका लागि टरेको छ। केही दिनयता काठमाडौंमा भएका तीव्र छलफलहरूबाट ठोस सहमति जुट्न नसकेपछि एकता प्रक्रिया रोकिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीले पनि एनआरएनए मिलेर आए सहकार्य सहज हुने बताइएकाले छलफल अघि बढाइएको थियो। हाल संघ दुई समूह—महेश श्रेष्ठ र बद्री केसी—को नेतृत्वमा विभाजित छ।

दुबै समूहबीच सहमति जुटाएर शनिबार परेको एनआरएनए स्थापना दिवस (एनआरएनए डे) संयुक्त रूपमा मनाउने योजना थियो। तर, सर्वोच्च अदालतको परमादेश अनुसार अघिल्लो एकता महाधिवेशनको मान्यता, नयाँ महाधिवेशनको समयसहितका विषयमा सहमति नबनेपछि एकता सम्भव भएन।

अध्यक्ष बद्री केसीले संस्थाको हितका लागि प्रयास जारी राखेको बताए। उनले केही विषयमा सहमति नजुटेकाले शनिबार एकताबद्ध रूपमा एनआरएनए डे मनाउन नसकिएको बताए।
महेश श्रेष्ठले पनि कतिपय विषयमा मतभेद बाँकी रहेको जनाउँदै आफू एकताकै पक्षमा रहेको बताए। उनका अनुसार समूहभित्रका केही अभियन्तालाई मनाउन नसक्दा सहमति हुन सकेको छैन।

विशेषगरी श्रेष्ठ समूहभित्र कांग्रेसनिकट सदस्यहरूबीच विविध धारणा रहेका छन्। पूर्वअध्यक्ष शेष घले र आरके शर्मा समूहलाई समेत समेट्नुपर्ने चुनौती पनि रहेको श्रेष्ठको भनाइ छ। अर्कातर्फ, केसी समूहले श्रेष्ठ पक्षको अस्तित्व अस्वीकार गर्दै आफ्नै नेतृत्वमा महाधिवेशनमा जाने अडान लिएको बताइन्छ।

श्रेष्ठ समूहका महासचिव बीआर लामाले सामाजिक सञ्जालमार्फत भनेका छन्, “बद्रीजीको कार्यकाल अक्टोबर १४ मा समाप्त हुँदैछ। हामीले उनीहरूलाई त्यस दिन कार्यभार हस्तान्तरण गर्न अनुरोध गरेका थियौं, तर उनीहरू तयार भएनन्। हामीले दुई वर्षको उनीहरूको अस्तित्व स्वीकार्य ठानेका थियौं, तर उनीहरूले हाम्रो छ महिनाको अस्तित्व स्वीकारेनन्।”

उनका अनुसार एकताको लागि सबै पक्षको अस्तित्वलाई स्वीकार्न जरुरी छ। उनले भने, “एकताको मन्त्र जपिरहँदा मात्र एकता सम्भव हुँदैन; त्यसका लागि इमान्दार प्रयास र आपसी सम्मान आवश्यक छ।”

एकता प्रयास असफल भएपछि, केसी समूहले पशुपतिनाथ र स्वयम्भूमा पूजा तथा सचिवालयमा झन्डोत्तलन र पत्रकार सम्मेलन आयोजना गर्‍यो।
त्यस्तै, श्रेष्ठ समूहले स्वयम्भूमा शान्ति पूजा र ट्राफिक कन्ट्रोल रुम बग्गीखानामा कार्यक्रम गरेको बताइएको छ।

एनआरएनए अभियन्ता आरके शर्माले संस्थालाई “एजेन्डामुखी, जिम्मेवार र परिणाममुखी” बनाउँदै एकताको बाटो रोज्न आग्रह गरे। उनका अनुसार, “सबैको इमान्दार प्रयास, परस्पर सम्मान र साझा प्रतिबद्धता नै अबको मूल शक्ति हो—मिल्नुको विकल्प छैन।”

श्रेष्ठ नेतृत्वको एनआरएनएले पनि सबै पक्षलाई एकताको वातावरण बनाउन आग्रह गरेको छ।
प्रवक्ता गंगाधर गौतमले जारी गरेको विज्ञप्तिमा बद्री केसी पक्षलाई संघको सचिवालय तत्काल हस्तान्तरण गर्न र सबै मुद्दा फिर्ता लिएर एकताको वातावरण सिर्जना गर्न आह्वान गरिएको छ।

संघले आफ्नो विधान, परम्परा र प्रवासी नेपाली समुदायको भावना अनुसार एकता प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका