Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियएक अफगानी युवतीको पत्र : ढोकामा कोही आए, मुटु काँप्छ; लाग्छ –...

एक अफगानी युवतीको पत्र : ढोकामा कोही आए, मुटु काँप्छ; लाग्छ – कतै मेरी साथीलाई झैं उठाउन त आएनन् ?

हामी दुबैजना पढाई पूरा गरेर अफगान जनताका लागि केही गर्ने सपना देख्थ्यौं । उनी शिक्षिका बन्न चाहन्थिन् । बालबालिकालाई पढाउन उनलाई मज्जा लाग्थ्यो  तर अब उनी अहिले कस्ती होलिन्, मलाई थाहा छैन ।

थाहा छैन अब हामी एक–अर्कालाई कहिले भेट्नेछौं । जहाँ म बस्छु, त्यो निकै सुन्दर इलाका हो तर यहाँ सुरक्षा छैन । जतिबेला पनि तालिबानको छायाँ छ । जबदेखि यो शहर तालिबानको कब्जामा आएको छ, मानिसहरु असाध्यै डराएका छन् । डरका कारण कसैले पनि तालिबानविरुद्ध बोल्दैनन् । घरको झ्यालबाट हेर्ने आँटसमेत गर्दैनन् । तालिबान लडाकू आउँदा जाँदा डरलाग्दा छायाँ जस्तै देखिन्छन् ।

हाम्रो शहर तालिबानको कब्जामा तीन महिना अघि आएको थियो । जुनदिन तालिबानले हाम्रो शहरमा कब्जा जमायो, म असाध्यै डराएर राएकी थिएँ । त्यतिबेला मलाई लागेको थियो कि सरकार तालिबानसँग लड्नेछ र उसलाई पछि हट्न बाध्य पारिनेछ तर तालिबानले एकपछि अर्को गर्दै सबैमा कब्जा जमायो र हाम्रो आशा टुट्यो । मैले सुनेको छु कि तालिबानीले पढे–लेखेका युवतीसँग विवाह गर्न चाहन्छ । उनीहरु डाक्टर र शिक्षिकालाई आफ्ना श्रीमती बनाउन चाहन्छन् ताकि उनीहरुमार्फत् आफ्नो बच्चा जन्माउन सकून् ।

केही तालिबान लडाकूका पहिले नै विवाह भइसक्यो तरपनि उनीहरु सुन्दर युवतीसँग विवाह गर्न चाहन्छन् । मलाई डर लागेको छ कि कतै मेरा साथीलाई झैं मलाई पनि उठाउने हुन् कि । मलाई सधैं यहि डरले सताएको छ । तालिबानका केही लडाकूको यहाँ घर छ र केही पाकिस्तानबाट आएका छन् । उनीहरु यहाँ सरकारी भवनमा बसिरहेका छन् । आफ्नो हरेक आवश्यकताका लागि तालिबानी हाल यहाँका बासिन्दामाथि निर्भर छन् । उनीहरुले हरेक घरबाट खानपिनका सामग्री र पैसा लिइरहेका छन् ।

केही दिन अघि तालिबान हाम्रो घरमा आएका थिए । हामीलाई ३०–४० जनाका लागि खाना बनाउन भने । हामीले उनीहरुका लागि ‘काबुली पुलाउ’ बनाउनुपर्यो । यसका लागि मासु पनि चाहिन्छ । उनीहरु यहाँका मानिसहरुको घरमा गएर आफ्ना लागि जबरजस्ती खाना बनाउन लगाइरहेका छन् । उनीहरुको कुरा कसैले पनि नमान्न आँट गर्दैनन् । प्रत्येक घरको पालो आउँछ । अघिल्लो पटक जब तालिबानको शासन थियो, त्यतिबेला मेरी आमा जवान थिइन् । उहाँले थुप्रै प्रकारको प्रतिबन्ध देख्नुभएको छ तर उहाँ निकै हिम्मतिली महिला हुन् । उनी एक शिक्षिका बनिन्, जागिर खाइन् र घर चलाइन् । अब तालिबानले हरेक अध्यापकसँग पैसा लिइरहेको छ । मेरी आमाबाट पनि एक हजार अफगानी पैसा लिएका छन् । आफूहरुले  भविष्यमा पनि पैसा मागिरहने उनीहरुले बताएका छन् ।

तालिबानीले आफूहरु यसपटक परिवर्तन हुने बताउँदै आएका छन् तर हामीलाई उनीहरुमाथि विश्वास छैन । मेरी आमाले तालिबानको त्यो भयावह समय देख्नुभएको छ । उहाँले हामीलाई जुन कहानी सुनाउनुहुन्थ्यो, त्यो सुन्दा म निकै डराउँथे तर अब एकै झट्कामा म आफैं त्यहि समयमा आइपुगेकी छु । मेरा सबै सपनामाथि घात भयो । म जब आँखा बन्द गर्छु तब अँध्यारो देख्छु र आँखा खोल्दा पनि मैले अँध्यारो नै देख्छु । ’

हामी उज्बेक जाती हौं । हाम्रो शहरमा ताजिक जाती पनि बस्छन् । फाट्टफुट्ट हजारा परिवार पनि छन् । हजारा समुदायमाथि तालिबानले निकै अपराध गरेको थियो । केही हजारा परिवार शहर छोडेर काबुल गएका छन् । तालिबानीमध्ये धेरैजसो पश्तो हुन् र उनीहरु अन्य समुदायका मानिसहरुमाथि अपराध गर्छन् । हामीलाई थाहा भए अनुसार थुप्रै इलाकामा उज्बेक र ताजिकलाई निशाना बनाइएको छ ।

म थप पढ्न चाहन्छु, आफ्नो देशका लागि केही गर्न चाहन्छु , तर म अब पढ्न पाउँछु कि पाउदिनँ थाहा छैन । मेरी एक बहिनी हिन्दुस्तानमा पढिरहेकी छिन् । ऊ पढाई पूरा गरेर अफगानिस्तान फिर्ता हुन चाहिन्थन् । तालिबानको कब्जापछि अब उसले देश फिर्ता हुने आफ्नो निर्णय फेरेकी छिन् ।

म अफगानिस्तानलाई धेरै माया गर्छु । म कहिल्यै देशबाट बाहिर जान चाहन्नथेँ किनभने म सोच्थेँ कि मेरो देशलाई मेरो आवश्यकता छ तर अब मैले बाहिर जाने मौका पाएँ भने म पनि जानेछु । तालिबानको शासनले हाम्रो जीवन फेरिदिएको छ । मेरा सबै साथीहरु असाध्यै डराएका छन् । ढोकामा कोही आएजस्तो लागे मेरो मुटु काँप्छ । यस्तो लाग्छ कि कतै तालिबान त आएनन्, जो मलाई उठाउनका लागि आएका छन् ।

यो कहानीमा सबैकुरा साँचो छ, मेरो नाम र शहर बाहेक । तालिबानको डरका कारण मैले आफ्नो नाम–ठेगाना लुकाउनु परेको छ । मंगलबार तालिबान लडाकू पुनः हाम्रो घरमा आएका थिए । ज्यान बचाउनका लागि हामीले आफ्नो घर र शहर छोडिदिएका छौं । अब हामी एक नयाँ इलाकामा छौं तर हामी कहिलेसम्म सुरक्षित हुनसक्छौं, त्यो भने थाहा छैन ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका