Friday, July 10, 2026
Homeअन्तराष्ट्रियएउटा दाँत दुख्दा १२ वटा निकालियो, उपचारकै नाममा लाखौँ रुपैयाँ असुलिएको खुलासा

एउटा दाँत दुख्दा १२ वटा निकालियो, उपचारकै नाममा लाखौँ रुपैयाँ असुलिएको खुलासा

काठमाडौं। चीनमा दाँतको उपचारका क्रममा भएको गम्भीर लापरवाहीको एउटा घटनाले चिकित्सा सेवाको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। एउटा दाँतको उपचार गराउन क्लिनिक पुगेका ६३ वर्षीय एक वृद्धको मुखबाट १२ वटा स्वस्थ दाँत निकालिएको मात्रै होइन, उपचारको नाममा उनको बैंक खाता र डिजिटल वालेटबाट लाखौँ रुपैयाँ बराबरको रकम पनि असुलिएको खुलेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सान्सी प्रान्तको बाओजी सहरका ६३ वर्षीय ली (परिवर्तित नाम) गत वर्ष सेप्टेम्बरमा एउटा दाँत दुखेको गुनासो लिएर स्थानीय दातुआनयुआन डेन्टल क्लिनिक पुगेका थिए। क्लिनिकले आकर्षक विज्ञापन र निःशुल्क स्वास्थ्य परीक्षणको प्रस्तावमार्फत उनलाई उपचारका लागि बोलाएको थियो।

लीका अनुसार सामान्य परीक्षणपछि चिकित्सकहरूले उनको एउटा दाँतको उपचार गर्नुको सट्टा मुखमा रहेका अन्य १२ वटा दाँत निकालिदिए। त्यसपछि एउटै प्रक्रियामा १० वटा डेन्टल इम्प्लान्ट पनि राखिएको थियो।

उपचारपछि क्लिनिकले उनको बैंक खाता र डिजिटल वालेटबाट १८ हजार ८०० युआन (करिब ४ लाख २० हजार नेपाली रुपैयाँ) असुलेको थियो। त्यति हुँदाहुँदै पनि थप ६ हजार २०० युआन (करिब १ लाख ४० हजार रुपैयाँ) तिर्न बाँकी रहेको भन्दै बिल प्रस्तुत गरिएको थियो।

लीका अनुसार उपचारपछि उनका छोरा लिन आउँदा उनको मुख रगतले भरिएको थियो भने उनीसँग घर फर्किने बसभाडासमेत बाँकी थिएन।

घटनालाई अझ गम्भीर बनाउने पक्ष के थियो भने ली मुटुरोग, मधुमेह, उच्च रक्तचाप र हृदयघातको इतिहास भएका बिरामी थिए। उनको मुटुमा चार वटा स्टेन्टसमेत राखिएको थियो। दन्त विशेषज्ञहरूका अनुसार यस्ता बिरामीको उपचारअघि विस्तृत स्वास्थ्य मूल्याङ्कन र आवश्यक विशेषज्ञको परामर्श अनिवार्य हुन्छ।

लीको परिवारले स्थानीय स्वास्थ्य विभागमा पटक–पटक उजुरी दिएपछि गरिएको अनुसन्धानमा क्लिनिकले बिरामीलाई उपचारका वैकल्पिक विकल्पबारे जानकारी नदिएको, आवश्यक स्वास्थ्य परीक्षण नगरी शल्यक्रिया गरेको तथा मेडिकल रेकर्डसमेत मापदण्डअनुसार नराखेको पाइएको छ। अनुसन्धानका क्रममा मेडिकल रेकर्डमा लीको लिङ्गसमेत गलत उल्लेख गरिएको र केही कागजात पछि थपिएको भेटिएपछि अभिलेखमा हेरफेर गरिएको आशंका पनि गरिएको छ।

अनुसन्धानपछि स्थानीय स्वास्थ्य विभागले क्लिनिकलाई लीबाट लिइएको सम्पूर्ण उपचार शुल्क फिर्ता गर्न आदेश दिएको छ। साथै, सुधारात्मक कारबाहीका लागि क्लिनिकलाई अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ।

यसअघि पनि चीनमा एक व्यक्तिको एकै दिन २३ वटा दाँत निकालेर १२ वटा इम्प्लान्ट राखिएको र उपचारपछि १३ दिनमै उनको मृत्यु भएको घटना सार्वजनिक भएको थियो, जसले दन्त उपचारमा सुरक्षा मापदण्डको पालनाबारे थप बहस सिर्जना गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका