काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन्।
काठमाडौँको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गर्दै मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, साथै बाढी–पहिरोबाट क्षति पुगेका विद्युत् आयोजनाहरूको जानकारी लिए।
देशका विभिन्न ठाउँमा छिनछिनमा बत्ती जाने गुनासो बढिरहेका सन्दर्भमा उनले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा आवश्यक नीतिगत तथा प्राविधिक सुधारबारे छलफल गरे।
बाढी–पहिरोले क्षति पुर्याएका संरचनाको तत्काल मर्मत गरी विद्युत् सेवा सुचारु गर्न निर्देशन दिँदै मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे। साथै, विद्युतगृह, प्रसारण लाइन र सबस्टेसनहरू पूर्ण क्षमतामा सञ्चालन गर्न, मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिन र आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा अग्रिम तयारी गर्न उनले प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिए।
अनुगमनका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात र प्रणाली सञ्चालनको अवस्था बारे जानकारी गराए। कार्यकारी निर्देशक सिलवालले बाढी–पहिरोले क्षति पुर्याएका संरचनाको मर्मत गरी विद्युत् सेवा पुनः सञ्चालन गर्न टोली तयारी अवस्थामा रहेको बताए।
उनका अनुसार हाल देशभित्र खपत गरेपछि अतिरिक्त विद्युत् दैनिक औसतमा एक हजार मेगावाट निर्यात भइरहेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ।
विद्युत् भारतको ऊर्जा बजार (आइएक्स) अन्तर्गत डे-अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ। साथै, द्विपक्षीय सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा, र भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ।
भारतसँगको विद्युत् कारोबार भारतीय रुपैयाँमा र बङ्गलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने भएकाले नेपालले विद्युत् बिक्रीबाट दुबै मुद्रामा आम्दानी गरिरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले हाल भारत र बङ्गलादेश गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाएको छ।


