काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारका विषयमा उठेका चासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक धारणा सार्वजनिक गरेको छ।
रास्वपाले नेपालको संविधान, प्रचलित कानुन तथा मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति पार्टी सधैं सजग र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा उम्मेदवार सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा अन्योल सिर्जना भएको र धार्मिक तथा सांस्कृतिक भावनामा पुगेको ठेसप्रति सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षीको हत्या वा हिंसाको पक्षमा नरहेको तथा राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको स्पष्ट पारिसकेका छन्।
‘खगेन्द्र सुनारले रास्वपामा आबद्ध हुनुअघि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा सिर्जना भएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण रूपमा क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमा आफू शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको प्रष्ट पारिसक्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टीले सामाजिक सञ्जालमा उनका केही अभिव्यक्तिहरू तोडमोड गरी प्रचार गरिएको दाबी गर्दै त्यसबाट उत्पन्न भ्रम र भावनात्मक चोटप्रति उम्मेदवारले आत्मालोचना गर्दै क्षमायाचना गरेको जनाएको छ।
यसैगरी, रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराइएको जनाएको छ। उम्मेदवारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएकोमा पार्टी विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
रास्वपाले आफ्नो विधान र प्रस्तावनामा नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्मका रूपमा लिइएको स्मरण गराउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्न पार्टी सधैं प्रतिबद्ध रहने स्पष्ट पारेको छ।


