Sunday, November 8, 2026
Homeसामाचारउपसभामुख रानामगरको भनाइ: “धान दिवसको सार्थकता उत्पादन वृद्धिका रणनीतिमा निर्भर”

उपसभामुख रानामगरको भनाइ: “धान दिवसको सार्थकता उत्पादन वृद्धिका रणनीतिमा निर्भर”

काठमाडौँ, १५ असार: उपसभामुख इन्दिरा रानामगरले खाद्य सुरक्षा र पोषणमा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएकी छन्।

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उपसभामुख रानामगरले जलवायु अनुकूलित प्रविधिको प्रसार, जैविक विविधताको उपयोग, पोषणयुक्त र उच्च उत्पादन दिने धान जातहरूको विकास तथा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “धान दिवसको सार्थकता यिनै उपायहरूको प्रभावकारी कार्यान्वयनमा निर्भर रहन्छ भन्ने विश्वास लिएकी छु।”

उपसभामुख रानामगरले किसानको जीवनस्तर उकास्न नीतिनिर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हुनुपर्ने बताइन्। साथै, धान उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै किसानहरूलाई खाद्य सुरक्षाप्रति सचेत गराउनु आवश्यक रहेको धारणा पनि राखिन्।

धान दिवस यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मुलुकभर मनाइँदैछ। नेपाली समाजमा असार १५ लाई ‘दही–चिउरा खाने पर्व’ को रूपमा पनि विशेष महत्त्वका साथ मनाइन्छ। खेतीपातीका साथै अन्य पेशा–व्यवसायमा संलग्न नागरिकहरूले पनि आजको दिन परम्परागत रूपमा दही–चिउरा खाएर मनाउँछन्।

“नेपाल कृषि प्रधान देश हो,” उपसभामुख रानामगरले भनिन्, “यहाँका अधिकांश जनता कृषि क्षेत्रमा निर्भर छन्, र धान हाम्रो प्रमुख खाद्यान्न बाली हो। धान खेती हाम्रो समाज र जीवनसँग अभिन्न रूपमा जोडिएको छ। यसले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिले पनि महत्वपूर्ण स्थान ओगटेको छ।”

उनका अनुसार, धान दिवसको उद्देश्य भनेको धान उत्पादनमा आधुनिकीकरण, व्यवसायीकरण तथा उत्पादन वृद्धिको प्रवर्द्धन गर्नु हो।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। खाद्य वस्तुको अभावमा जीवन जोखिममा नपर्ने गरी सुरक्षित हुने अधिकार पनि संविधानमै उल्लेख गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका