काठमाडौँ, २७ कात्तिक — उपराष्ट्रपति रामसहायप्रसाद यादव बुधबार साँझ गणतन्त्र कोरियाको राष्ट्रिय दिवसको अवसरमा राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो।
समारोहमा नेपालको तर्फबाट सहभागी अतिथिलाई सम्बोधन गर्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले नेपाल र कोरियाबीचको सम्बन्ध आपसी सहयोग र विश्वासमा आधारित रहेको बताउनुभयो। उहाँले नेपालको दिगो आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार निरन्तर सहकार्य गर्दै आएको र भविष्यमा पनि यसलाई अझ सुदृढ बनाइने उल्लेख गर्नुभयो।
राजदूत पार्कका अनुसार जलविद्युत्, सांस्कृतिक सम्पदा र मानव संसाधन विकास नेपालका ती क्षेत्र हुन् जसमा दुवै देशबीच सहकार्यको प्रचुर सम्भावना रहेको छ। उहाँले यी क्षेत्रलाई प्राथमिकतामा राख्दै कोरियाले नेपालसँग साझेदारको भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो।
समारोहमा कोरियाली परम्परा झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए। कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्यमी–व्यवसायी, सञ्चारकर्मी तथा कामको सिलसिलामा नेपालमा रहेका कोरियाली नागरिकको उल्लेख्य उपस्थिति थियो।


