काठमाडौँ। ललितपुरस्थित नदी/खोला किनारका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण पानीको बहाव बढेसँगै किनारका बासिन्दालाई सुरक्षित स्थानान्तरण गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए।
मनोहरा, कर्मनाशा तथा नख्खु खोला र बागमती नदी किनारका बासिन्दालाई अन्यत्र स्थानान्तरण गरिएको छ।
लगातार वर्षा भएसँगै सम्भावित जोखिम न्यूनीकरण गर्न ललितपुर प्रहरीले विशेष उद्धार टोली तयार गरेको छ। नेपाल पर्वतारोहण संघ र पर्वतीय उद्धारमा सक्रिय एनएनएमजीएसँगको सहकार्यमा २५ जनाको विशेष उद्धार टिम तयार गरिएको एसएसपी बोगटीले बताए। उनले भने, “विशेष उद्धार टिमलाई तत्काल घटनास्थलमा परिचालन गर्नेगरी जावलाखेलमा तयारी अवस्थामा राखिएको छ।”
विशेष उद्धार टोली र प्रहरीका उद्धारकर्मीहरूले दुर्घटनास्थलमा संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्। ललितपुर प्रहरीले विशेष उद्धार सामग्री र एम्बुलेन्स पनि तयारी अवस्थामा राखेको छ।


