Sunday, November 8, 2026
Homeसामाचारइलाममा दुई नयाँ बेलिब्रिज सञ्चालन, राजस्व सङ्कलनमा ठूलो वृद्धि

इलाममा दुई नयाँ बेलिब्रिज सञ्चालन, राजस्व सङ्कलनमा ठूलो वृद्धि

फिक्कल (इलाम) – इलाममा एक वर्षमै दुईवटा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएका छन्। संघीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा पुवाखोला र जोगमाई खोलामा बनेका यी पुल सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने ४० मिटर लम्बाइको जोगमाई खोलामा रु १ करोड ९१ लाख २१ हजार ६३२ लागतमा पुल बनेको हो। त्यस्तै, केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा ४८.६ मिटर लम्बाइको पुल रु १ करोड ४३ लाख ७६ हजार २९७ लागतमा निर्माण गरिएको छ।

यही आवभित्र सक्ने गरी सम्झौता भएको केचना–कञ्चनजङ्गा सडकअन्तर्गत ठाडे खोलामा रु १ करोड ८५ लाख ८ हजार ५३८ लागतमा डबल सेल बक्स कल्भर्ट निर्माणाधीन छ। कृष्ण/डाइमन/अभ्युदय जेभीले जिम्मा पाएको उक्त काम सम्झौता अवधिभित्र नसक्दा एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिए।

राजस्व वृद्धि
कार्यालयले आव २०८१/८२ मा रु २ करोड २ हजार २३० राजस्व सङ्कलन गरेको छ, जुन अघिल्लो आव २०८०/८१ मा उठेको रु ३३ लाख ५४ हजार ७९९ भन्दा धेरै वृद्धि भएको हो। लेखा अधिकृत प्रेमकुमार लिम्बूका अनुसार प्रशासनिक दण्ड/जरिवाना र जफतबाट रु ७३ लाख ५५ हजार ९७०, बेरुजु फछ्र्यौटबाट रु ८४ लाख ५० हजार २१३, अन्य राजस्वबाट रु २५ लाख ३६ हजार ४७ र अन्य प्रशासनिक सेवा शुल्कबाट रु १६ लाख ६० हजार सङ्कलन भएको छ।

गत आवमा सम्झौता गरेर पनि काम नगर्ने चार निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी धरौटी जफत गरिएको कार्यालयले जनाएको छ। ती कम्पनीमा कपिलदेव कन्ट्रक्सन, पिङ्की कन्ट्रक्सन र तिम्सिना निर्माण सेवा रहेका छन्, जसले मेची राजमार्गअन्तर्गत बिब्ल्याँटे–राँके, राँके–फिदिम, बिब्ल्याँटे–माईपोखरी–सन्दकपुर र फिदिम–सुकेटार सडक मर्मतको जिम्मा लिएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका