काठमाडौं: इरान र इजरायलबीच चर्किएको द्वन्द्वले क्षेत्रीय त्रास बढेसँगै इरानी नागरिकहरू आफ्नो देश छाडेर शरणको खोजीमा छिमेकी राष्ट्रतर्फ पलायन गर्न थालेका छन्।
बुधबार इरानको मेघरी सीमा चौकी हुँदै सयौं इरानी नागरिकहरू छिमेकी राष्ट्र आर्मेनियामा प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यद्यपि, आर्मेनियाली अधिकारीहरूले हालसम्म आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका छैनन्।
दक्षिणी आर्मेनियाको अगारक शहरका स्थानीय बासिन्दाहरूका अनुसार केही घण्टाको अन्तरालमै सयौं मानिस भारी सुटकेससहित सीमा पार गर्दै आएका छन्। उनीहरू लामो समय बस्न तयार भएको जस्तो देखिएको छ।
‘सीमावर्ती शहर मेघरी शरण खोज्ने इरानी नागरिकहरूले भरिएको छ,’ प्रत्यक्षदर्शीहरूले बताएका छन्। शरणार्थी स्थिति भने औपचारिक रूपमा प्रदान गरिएको छैन। स्थानीय होटलहरू पूर्ण क्षमतामा भरिएको जनाइएको छ। इरानको हवाई क्षेत्र बन्द भएपछि आर्मेनिया केवल इरानी नागरिकहरूका लागि मात्र होइन, इरानबाट भागेका विदेशी नागरिकहरूको लागि पनि महत्त्वपूर्ण ट्रान्जिट हब बनेको छ।
इरानको अर्को उत्तरी छिमेकी अजरबैजानमा पनि उल्लेख्य संख्यामा इरानी नागरिक पुगेका छन्। बाकु र येरेवनका अधिकारीहरूका अनुसार मंगलबारसम्म मात्र इरानमा रहेका ७०० भन्दा बढी विदेशी नागरिकहरूले दुबै देशको सीमा पार गरेका छन्।
गत शुक्रबार इजरायलले इरानका आणविक पूर्वाधारहरूलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण गरेपछि द्वन्द्व चर्किएको हो। त्यसयता इरानभित्र सुरक्षा जोखिम बढेसँगै नागरिकको पलायन सुरु भएको हो।


