Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियइरानसँग युद्धविराम अनिश्चितकालका लागि लम्ब्याइयो, होर्मुज जलडमरूमा नाकाबन्दी यथावत्

इरानसँग युद्धविराम अनिश्चितकालका लागि लम्ब्याइयो, होर्मुज जलडमरूमा नाकाबन्दी यथावत्

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालसम्म लम्ब्याउने घोषणा गरेका छन्।

पाकिस्तानको आग्रहलाई स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले इरानले आफ्नो तर्फबाट एकीकृत र ठोस प्रस्ताव पेश नगरेसम्म युद्धविराम जारी रहने बताएका हुन्। उनले इरान सरकार आन्तरिक रूपमा कमजोर र विभाजित अवस्थामा रहेको विश्लेषणका आधारमा यो निर्णय गरिएको स्पष्ट पारेका छन्।

युद्धविरामको घोषणा भए पनि होर्मुज जलडमरूमा लगाइएको अमेरिकी नाकाबन्दी भने यथावत् राखिएको छ। अमेरिकी प्रशासनले त्यहाँ नौसैनिक उपस्थिति कायम राख्ने र नाकाबन्दी नहटाउने अडान लिएको छ।

यसअघि वार्ता असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका ट्रम्पको पछिल्लो निर्णयलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल असिम मुनिरले युद्धविराम लम्ब्याउन गरेको आग्रहलाई सकारात्मक रूपमा लिएको ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

इरानको तर्फबाट भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। यसअघि इरानले अमेरिकी मागहरू अस्वीकार्य भएको र नाकाबन्दी नहटाएसम्म वार्ताको अर्थ नरहेको बताउँदै आएको थियो।

इरानमाथि लगाइएको कडा आर्थिक तथा सैन्य नाकाबन्दी यथावत् राखिएको छ। यसले इरानको अर्थतन्त्र र आपूर्ति प्रणालीमा निरन्तर दबाब कायम रहने देखिएको छ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा हुने भनिएको वार्ताका लागि आफ्नो भ्रमण रद्द गरेका छन्, जसले वार्ताको वातावरण अझै अनिश्चित रहेको संकेत गरेको छ।

इरानी पक्षले अमेरिकी घोषणालाई समय लम्ब्याएर थप दबाब दिने रणनीतिका रूपमा व्याख्या गर्दै आएको छ। युद्धविरामको निश्चित समयसीमा नतोकिएकाले आगामी दिनमा वार्ता कुन दिशातर्फ मोडिने हो भन्ने विषय अझै अनिश्चित रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका