काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य कारबाहीबाट जोगिन दुईवटा सर्त पूरा गर्नुपर्ने चेतावनी दिएका छन्। अमेरिकाले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो।
ट्रम्पले इरानलाई लक्षित गर्दै भने, “पहिलो—आणविक हतियार नबनाओस्। दोस्रो—प्रदर्शनकारीहरूको हत्या गर्न बन्द गरोस्।” उनले इरानमा हजारौँ मानिस मारिएको आरोपसमेत लगाए।
उनले थपे, “अहिले धेरै ठूला र शक्तिशाली अमेरिकी युद्धपोतहरू इरानतर्फ गइरहेका छन्। तिनीहरू प्रयोग गर्न नपरोस् भन्ने हाम्रो चाहना हो।”
ट्रम्पको यो चेतावनी पछिल्ला केही हप्तादेखि इरानमाथि उसको आणविक कार्यक्रमलाई लिएर सम्झौताका लागि दबाब बढिरहेको सन्दर्भमा आएको हो।
यसप्रति प्रतिक्रिया जनाउँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानको सशस्त्र सेना पूर्ण रूपमा तयार अवस्थामा रहेको बताएका छन्। उनले कुनै पनि आक्रमण भएमा इरानले “तुरुन्तै र पूर्ण शक्तिका साथ” जवाफ दिने चेतावनी दिए। उनका अनुसार इरानी सेनाहरू अहिले उच्च सतर्कतामा रहेका छन् र “औँला ट्रिगरमै राखेर” तयारी अवस्थामा छन्।


