तेहरान । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजको दमनबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको मानव अधिकारवादी समूहहरूले जनाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई मद्दत ‘आउँदैछ’ भन्दै ढाडस दिएका छन्।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले इन्टरनेट बन्दको अवस्था हुँदाहुँदै पछिल्लो १७ दिनको विवरण संकलन गर्दै १ हजार ८ सय ५० जना प्रदर्शनकारी, १३५ जना सरकारी पक्षका व्यक्ति, ९ जना सर्वसाधारण र ९ जना बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ।
एक इरानी अधिकारीले पनि समाचार संस्था रोयटर्सलाई २ हजार जनाको मृत्यु भएको बताएका छन्, तर उनले यसका लागि ‘आतंककारी गतिविधि’ जिम्मेवार रहेको दाबी गरेका छन्। एचआरएएनएका अनुसार मंगलबारसम्म मृत्यु हुनेको संख्या २ हजार ३ पुगेको छ भने थप ७ सय ७९ जनाको मृत्युबारे रिपोर्ट प्रमाणीकरणको प्रक्रियामा छ।
यता अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। ह्वाइट हाउस फर्कने क्रममा उनले हत्याको श्रृंखला ठूलो देखिए पनि यकिन विवरण आउन बाँकी रहेको बताएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत इरानी अधिकारीहरूले हत्याको ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिँदै जनतालाई आन्दोलन जारी राख्न आह्वान गरेका छन्।
उनले हिंसा नरोकिएसम्म इरानी अधिकारीहरूसँगको सबै भेटघाट रद्द गरिएको जानकारी दिँदै ‘मेक इरान ग्रेट अगेन’ भन्ने नारा समेत प्रयोग गरेका छन्। यसअघि अमेरिकाले इरानसँग व्यापार गर्ने देशहरूमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ।
इरानी मुद्राको तीव्र अवमूल्यन र बढ्दो महँगीका कारण सुरु भएको आन्दोलन अहिले ३१ वटा प्रान्तका १८० भन्दा बढी सहरमा फैलिएको छ। प्रारम्भमा आर्थिक मुद्दामा केन्द्रित आन्दोलन अहिले राजनीतिक परिवर्तनको मागमा परिणत भएको छ, जसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछिकै सत्ताका लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा हेरिएको छ।
इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द गरिएको छ भने सुरक्षाकर्मीले घातक बल प्रयोग गरिरहेको मानव अधिकार संस्थाहरूको आरोप छ। नर्वेस्थित इरान ह्युमन राइट्सले कम्तीमा ७३४ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ र वास्तविक संख्या हजारौँ हुन सक्ने जनाएको छ। तेहरानको कहरीजक फरेन्सिक केन्द्रमा मानिसहरूले आफ्ना आफन्तका शव खोजिरहेको दृश्य देखिने भिडियोहरू पनि सार्वजनिक भएका छन्।
अस्पतालहरू घाइते र मृतकले भरिएका छन्। चिकित्सकहरूले आवश्यक औषधि र उपकरणको अभावका कारण अस्पतालहरूको अवस्था ‘युद्धमैदान’ जस्तै बनेको बताएका छन्।


