Monday, July 20, 2026
Homeअन्तराष्ट्रियइरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, मृतक ५४४ पुगे — ट्रम्पले कडा कदमको चेतावनी

इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, मृतक ५४४ पुगे — ट्रम्पले कडा कदमको चेतावनी

दुबई । इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको संख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन्। मृतक संख्या बढ्दै गएसँगै स्थिति थप गम्भीर बन्दै गएको छ।

यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता गर्न तयार रहेको दाबी गरेका छन्। तर अवस्था झन् बिग्रँदै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन्।

आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानविरुद्ध साइबर आक्रमणदेखि प्रत्यक्ष सैन्य कारबाहीसम्मका विकल्पबारे राष्ट्रिय सुरक्षा टोलीले छलफल गरिरहेको जानकारी दिए। “सेनाले सबै विकल्पहरू गहिराइमा अध्ययन गरिरहेको छ, र हामीसँग निकै बलिया विकल्पहरू छन्,” उनले भने। इरानले प्रतिशोध लिएमा ‘पहिल्यै नदेखिएको स्तरको जवाफ’ दिइने चेतावनी पनि ट्रम्पले दिए।

ट्रम्पका अनुसार तेहरानले वार्ताको प्रस्ताव गरेको छ र बैठक तय गर्ने प्रयास भइरहेको छ। तर प्रदर्शनकारीमाथि भइरहेको दमन र मृतक संख्या तीव्र रूपमा बढिरहेकाले वार्ताअघि नै कदम चाल्नुपर्ने अवस्था आउन सक्ने उनले बताए। यद्यपि, उक्त प्रस्तावबारे इरानी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

यसैबीच, क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाको तैनाथी र मध्यपूर्वको सुरक्षा अवस्था ह्वाइट हाउसका लागि प्रमुख चिन्ताको विषय बनेको छ। इरानले चेतावनी दिँदै अमेरिकाले प्रदर्शनकारीको नाममा हस्तक्षेप गरे अमेरिकी सेना र इजरायल ‘वैध लक्ष्य’ हुने बताएको छ।

मानव अधिकार समूहका अनुसार पछिल्ला दुई सातामा १० हजार ६ सयभन्दा बढी मानिस पक्राउ परिसकेका छन्। मृतकमध्ये ४९६ जना प्रदर्शनकारी र ४८ जना सुरक्षा निकायका सदस्य रहेको बताइएको छ। इरानमा इन्टरनेट र फोन सेवा अवरुद्ध भएकाले वास्तविक अवस्था बुझ्न कठिन भएको र मृतक संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको जनाइएको छ। इरानी सरकारले अहिलेसम्म आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन।

विश्लेषकहरूका अनुसार सूचना अवरोधले सुरक्षा निकायभित्रको कठोर धारलाई थप बल पुगेको आशंका गरिएको छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म राजधानी तेहरान, दोस्रो ठूलो सहर मशहदसहित विभिन्न सहरमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका थिए। सामाजिक सञ्जालमा देखिएका भिडियोहरूमा प्रदर्शनकारीहरूले मोबाइल फोनको उज्यालो देखाउँदै नारा लगाएको देखिन्छ।

इरानी संसद्मा पनि कडा अभिव्यक्ति आएका छन्। प्रभावशाली सांसद मोहम्मद बाघेर कालिबाफले इरानमाथि आक्रमण भए इजरायल र यस क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य केन्द्रहरू वैध लक्ष्य हुने चेतावनी दिएका छन्। संसद्मा ‘अमेरिका मूर्दावाद’ भन्ने नारा समेत लागेको राज्य सञ्चारमाध्यमले जनाएका छन्।

मध्यपूर्वमा अमेरिकी सेना आफ्नो र सहयोगी राष्ट्रहरूको सुरक्षाका लागि उच्च सतर्कतामा रहेको जनाएको छ। इजरायलले पनि अमेरिका–इरानबीचको अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग इरानसम्बन्धी छलफल गरेका छन्।

यसैबीच, भ्याटिकनमा पोप लियो चौधौंले इरानमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै संवाद र शान्तिको आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि प्रदर्शनकारीविरुद्धको हिंसाबाट ‘स्तब्ध’ भएको प्रतिक्रिया दिँदै इरानी अधिकारीहरूलाई संयम अपनाउन र सञ्चार सेवा पुनःस्थापना गर्न आग्रह गरेका छन्।

डिसेम्बर २८ देखि सुरु भएको यो आन्दोलन इरानी रियालको तीव्र अवमूल्यन र अन्तर्राष्ट्रिय प्रतिबन्धले कमजोर बनेको अर्थतन्त्रविरुद्धको विरोधबाट सुरु भई अहिले इस्लामिक शासन व्यवस्थामाथि प्रत्यक्ष चुनौतीमा रूपान्तरण भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका