काठमाडौं: इरानका निर्वासित नेता तथा १५ वर्षदेखि ‘न्यु इरान आन्दोलन’ को नेतृत्व गर्दै आएका इमान फोरौटनले इजरायली आक्रमणका कारण छिट्टै इरानमा शासन परिवर्तन हुने दाबी गरेका छन्। उनले भनेका छन् कि धेरै सेलिब्रेटीहरूले देश छोडिसकेका छन् र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले पनि आफ्नो पदबाट हट्ने विकल्प सोच्न सक्ने अवस्था आएको छ।
वाइनेट न्युजसँगको अन्तर्वार्तामा फोरौटनले भने, “इजरायली आक्रमणले इरानको सैन्य, आर्थिक र आणविक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ र प्रमुख नेताहरू मारिएका छन्। तर इरानी जनता यसलाई उत्सवको रूपमा मनाइरहेका छन् किनभने उनीहरूले यसलाई शासन परिवर्तनको अवसर मानिरहेका छन्।”
उनले थपे, “अहिले सबैभन्दा उपयुक्त समय हो किनभने राजकुमार रेजा पहलवी, जसलाई धेरैले भविष्यको नेता मान्छन्, विगत ४५ वर्षदेखि यो अवसरको पर्खाइमा छन्।” रेजा पहलवी इरानको अन्तिम राजाका छोरा हुन् र १९७९ को क्रान्तिपछि निर्वासनमा रहेका छन्। धेरै शासनविरोधीहरूले उनलाई नयाँ नेतृत्वको सम्भावित विकल्पको रूपमा हेर्छन्।
फोरौटनले भने, “सबभन्दा राम्रो अवस्था भनेको इजरायली आक्रमणले छिटो शासन परिवर्तन ल्याउनेछ र युवराज पहलवीले सत्ता सम्हाल्नेछन्। उनी अर्को राजा बन्न चाहँदैनन्, किनभने स्वतन्त्रता आएपछि उनको भूमिका समाप्त हुनेछ। त्यसपछि जनताले संसदीय राजतन्त्र वा गणतन्त्र प्रणाली रोज्नेछन्।”
उहाँले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि टिप्पणी गर्दै भन्नुभयो, “ट्रम्पलाई नचिनेका अब बुझ्न थालेका छन् कि उनी जे भन्छन्, त्यही गर्छन्। उनले युद्ध चाहँदैनथे र इरानसँग वार्ताको अवसर दिन खोजेका थिए। तर अयातोल्लाहहरूको गल्तीले यो स्थिति सिर्जना भयो र त्यसले छिट्टै इरानी जनतालाई ४५ वर्षको अधिनायकवादी शासनबाट मुक्त गर्ने आशा जगाएको छ।”
फोरौटनले इजरायलको अभियान कम्तीमा एक हप्तासम्म जारी रहने दाबी गर्दै, इरानले सैन्य जवाफ दिन नसक्ने सुनिश्चित भएपछि सर्वोच्च नेता खामेनीले देश छोडेर भाग्ने विकल्प लिन सक्ने बताए। उनले इरानका धेरै उच्च अधिकारीहरू रूस भागिसकेको पनि दाबी गरेका छन्।


