काठमाडौँ । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको छ। भारतीय चर्चित रियालिटी शो इन्डियन आइडल–२००७ का विजेता तामाङको असामयिक निधनले नेपाली र भारतीय कला क्षेत्र शोकमा डुबेको छ।
प्रशान्त तामाङले इन्डियन आइडल जितेर अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका थिए। औपचारिक रूपमा संगीतको शिक्षा नलिएका उनी प्राकृतिक प्रतिभा र मेहनतका कारण दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका थिए। गायन यात्राअघि उनी कोलकाता प्रहरीमा कार्यरत थिए। शोमा सहभागी हुँदा समेत उनी प्रहरी सेवामै रहेका थिए, जसले उनको जीवन संघर्ष र सफलताको कथा झनै प्रेरणादायी बनाएको थियो।
तामाङका पिता पनि प्रहरी सेवामै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई सहानुभूतिको आधारमा कोलकाता प्रहरीमा जागिर गर्ने अवसर प्राप्त भएको थियो। उनको जन्म भारतको दार्जिलिङ जिल्लाअन्तर्गत तुङ्सुङ क्षेत्रमा भएको थियो।
इन्डियन आइडल जितेपछि उनले गायनलाई पेशागत रूपमा अघि बढाए। पहिलो पटक नेपालमा पोखरा र काठमाडौँमा कन्सर्टमार्फत नेपाली दर्शकसँग प्रत्यक्ष भेट गरेका तामाङले त्यसपछि नेपाली फिल्म क्षेत्रमा पनि प्रवेश गरे। उनले नेपाली फिल्म गोर्खा पल्टन बाट अभिनय यात्रा सुरु गरेका थिए।
त्यसपछि उनी नेपाली फिल्म परदेशी र परदेशी–२ मा देखिए। उनका तीनै नेपाली फिल्म व्यावसायिक रूपमा सफल मानिन्छन्। पछिल्लो पटक उनी परदेशी–२ मा देखिएका थिए, जुन उनको अन्तिम नेपाली फिल्म बनेको छ।
परदेशी र परदेशी–२ का निर्माता राजेश बंशलका अनुसार तामाङ हाल सलमान खान अभिनीत बलिउड फिल्म ब्याटल अफ गलवान मा काम गरिरहेका थिए। उक्त फिल्ममा उनले चिनियाँ सेनाको भूमिकामा अभिनय गरेका छन्। फिल्मको डबिङ प्रक्रिया बाँकी रहेकै अवस्थामा उनको निधन भएको हो।
निर्माता बंशलले तामाङसँगको स्मरण साझा गर्दै भने, “फिल्मको डबिङका लागि चिनियाँ भाषा सिक्ने तयारी गर्दैछु दाइ भनेर कुरा हुन्थ्यो। आज उनको निधनको खबर सुन्दा पत्याउनै सकिनँ। परिवारबाट पुष्टि भएपछि मात्रै विश्वास गर्नुपर्यो।”
उनका अनुसार प्रशान्त तामाङ अत्यन्तै मिलनसार, सहयोगी र मिहिनेती व्यक्ति थिए। सधैं सकारात्मक सोच राख्ने तामाङसँग केही दिनमै भेट्ने योजना रहेको भए पनि अचानक आएको निधनको खबरले आफूलाई अत्यन्तै दुखी बनाएको बंशलले बताए।
साधारण प्रहरीबाट अन्तर्राष्ट्रिय गायन प्रतियोगिताको विजेता र सफल अभिनेता बन्ने प्रशान्त तामाङको जीवन यात्रा लाखौं युवाका लागि प्रेरणाको स्रोत बनेको थियो। उनको निधनले नेपाली र भारतीय संगीत तथा चलचित्र क्षेत्रले एक प्रतिभाशाली र लोकप्रिय कलाकार गुमाएको छ।


