काठमाडौं: नेपाल प्रहरीमा डिएसपी इन्चार्ज भएर जाने कार्यालयहरुमा सरुवा पाउन गृह मन्त्रालय धाउन थालेपछि सरुवामा सकस देखिएको छ।
इन्चार्ज भएर जाने कार्यालय ३० वटा भए पनि एक सयभन्दा बढी डिएसपी गृह मन्त्रालय धाउन थालेपछि यस्तो सकस देखिएको हो।
दुई दिन अघि नै सरुवा हुनुपर्नेमा गृहमा भीडभाड बढेपछि सहमति दिएको छैन। प्रहरी महानिरीक्षक वसन्त कुँवरले सरुवा गर्ने भएपनि सामान्यतया गृहमन्त्रीको सहमति लिने प्रावधानन रहेको छ । तर गृहले केही दिन ढिला गर्न आग्रह गरेकाले रोकिएको छ ।
केही जिल्ला इन्चार्ज र काठमाडौंका स्वयम्भु, कालिमाटी, बानेश्वर लगायतका वृत्तपनि खाली हुँदै गरेकाले त्यहाँ जान सयभन्दा बढीले गृहमन्त्रालयमा पुगेर दाबी गरिरहेका छन्। कांग्रेस एमालेको संयुक्त सरकार सञ्चालन गरेका बेला डिएसपीहरु दुवै दलका नेताहरुलाई भेटेर शक्ति भिडाउन लागि परेका हुन्।
प्रहरी कर्मचारीको सरुवा गर्दा भौगोलिक हिसावले तराई, पहाड, हिमाल र सुविधाको हिसावले शहरी ÷ ग्रामिण तथा सुगम ÷ दुर्गम क्षेत्रमा आलोपालो हुने गरी गरिने उल्लेख गरिएको भएपनि डिएसपीहरुले नयाँ गृहमन्त्रीलाई प्रभावमा पार्न खोजिएको छ।
‘केही दिनमै डिएसपीको सरुवा हुनेछ’, स्रोतले भन्यो। सरुवाको विषयमा गृहमन्त्री रमेश लेखक र आइजीपी वसन्त कुँवरबीच कुराकानी भएपनि मापदण्ड नपुगेकाले पनि मन्त्रालयको सोर्स लगाउन आएपनि गृहले केही दिन रोक्न खोजेको स्रोतले जनाएको छ ।
विशिष्टिकृत सेवा प्रवाह गर्ने प्रहरी कार्यालयहरुमा सम्बन्धित सेवामा आवश्यक पर्ने तालिम प्राप्त नगरेका प्रहरी कर्मचारीलाई जिम्मेवारीमा खटाईने / सरुवा गरिने छैन। कार्यालय प्रमुखको रुपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन गरिने छैन। स्वभाविक अपेक्षा राख्ने बाहेक अनुचित दवाव वा प्रभाव सिर्जना गरी सरुवा/काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी सोही बमोजिम मूल्यांकन गरी सरुवा गरिने जनाइएको छ।
सामान्यतया कार्यालय प्रमुखको रुपमा १ वर्ष सेवा अवधि पुरा गरेपछि मात्रै अन्यत्र सरुवा गरिनेछ। कार्यालय प्रमुखको जिम्मेवारी दिँदा कार्य क्षमता, कमाण्ड, तालिम, अनुभवलाई पनि ख्याल गरिने भन्ने मापदण्डलाई पनि अहिलेको अवस्थामा मिच्न खोजिएको भन्दै गृहमन्त्रालयले केही दिन रोक्न निर्देशन दिएको छ। तर एआइजी भीम ढकाल काठमाडौंबाहिर जाने भएकाले डिएसपी सरुवामा हतार गरिएको स्रोतको दाबी छ।
एउटै दर्जामा दोहोर्याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समय अन्तर दर्जागत रुपमा आवश्यकता अनुसार निर्धारण गर्न लागिएको पनि स्रोतले जनाएको छ ।


