काठमाडौं : प्रधानन्यायाधीशप्रति असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरु इजलास फर्किने तयारीमा छन्। बिहीबार बसेको न्यायाधीशहरुको फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधि पारित गर्ने निर्णय गरेसँगै न्यायाधीशरु इजलास फर्किने मुडमा छन्।
प्रधानन्यायाधीश जबराले शुक्रबारका लागि १० इजलास तोकेका छन्। तर, कानुन व्यवसायीहरु भने सो निर्णय सकारात्मक भएपनि आफ्नो आन्दोलन न्यायिक शुद्धीकरणका लागि भएकाले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनबाट पछि नहट्ने अडान लिएका छन्। उनीहरुले राजीनामा नआउञ्जेल बहसमा नजाने भएका छन्।
करिब ४ हप्तादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलित छन्। उनीहरुले प्रधान्यायाधीशविरुद्ध दिनहुँ सर्वोच्च परिसरमा धर्ना दिँदै आएका छन्।


