Saturday, May 2, 2026
Homeमनोरन्जन‘आ बाट आमा’को टिजर सार्वजनिक, आमाबुबा र परदेशिन लागेका छोराको भावुक कथा

‘आ बाट आमा’को टिजर सार्वजनिक, आमाबुबा र परदेशिन लागेका छोराको भावुक कथा

काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको नेपाली फिल्म **‘आ बाट आमा’**को टिजर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरले परदेश जान लागेका छोराप्रति आमाबुबाको माया, पीडा र भावनात्मक संघर्षलाई यथार्थपरक रूपमा प्रस्तुत गरेको छ। टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर सुतेका छन् भने उनका बुबाआमा बनेका प्रदीप रावत र विपना थापा छोराको बिदाइको पीडामा रातभर जाग्राम बसेका देखिन्छन्। छोरालाई परदेश पठाउनु पर्ने बाध्यताले उनीहरूलाई अनिन्द्रो बनाएको र आँसुमा रात बिताएको दृश्यले टिजरलाई थप मार्मिक बनाएको छ।

टिजरले दर्शकलाई भावनात्मक रूपमा छोइरहने संकेत दिएको छ। विशेषगरी विपना थापा र प्रदीप रावतको सशक्त अभिनयले टिजरमै दर्शकलाई भावुक बनाउन सफल भएको देखिन्छ। परदेशिन बाध्य नेपाली युवाको कथालाई निर्देशक चन्द्र पन्तले प्रभावकारी रूपमा पर्दामा उतारेका छन्।

आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने यस फिल्ममा प्रदीप रावत, विपना थापा र पल शाहका साथै सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन र बेगम नेपालीले अभिनय गरेका छन्। बालकलाकारका रूपमा समाइरा थापा र शान अधिकारी पनि देखिनेछन्।

निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा संवाद लेखनमा अमर न्यौपाने, अभिमन्यू निरवी र स्वयं चन्द्र पन्तको सहकार्य रहेको छ। फिल्मका लेखक अभिमन्यू निरवी हुन्। लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन् भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्।

नवराज उप्रेतीको छायांकन रहेको फिल्ममा गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी समावेश छ। गीतमा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभी सुनारको संगीत सुन्न सकिने छ। फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन्। ‘आ बाट आमा’लाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रतन श्रेष्ठले वितरण गर्नेछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका