Friday, July 17, 2026
Homeअर्थ र ब्यापारआर्थिक वर्षको अन्तिम तीन दिनमा ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर...

आर्थिक वर्षको अन्तिम तीन दिनमा ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर ५ प्रतिशतमा सीमित

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बिहीबार १६ अर्ब ५० करोड, बुधबार २१ अर्ब १७ करोड र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको हो।

हरेक आर्थिक वर्षको अन्तिम मसान्ततिर करदाताले कर तथा अन्य राजस्व दायित्व भुक्तानी गर्ने भएकाले राजस्व संकलन उल्लेख्य रूपमा बढ्ने गर्दछ। गत आर्थिक वर्षको यही अवधिमा भने करिब ६४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।

यद्यपि, वर्षभरको समग्र राजस्व संकलन अपेक्षाअनुसार हुन नसक्दा चालु आर्थिक वर्षको राजस्व वृद्धिदर ५ प्रतिशतमा सीमित भएको छ, जुन विगतको औसतभन्दा निकै कम हो।

आर्थिक वर्ष २०६८/६९ देखि २०७८/७९ सम्मको १० वर्षमा औसत राजस्व वृद्धिदर करिब १७ प्रतिशत रहेको थियो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा ७ प्रतिशत र २०८१/८२ मा ९ प्रतिशत वृद्धिदर कायम भए पनि आर्थिक वर्ष २०८२/८३ मा यो घटेर ५ प्रतिशतमा सीमित भएको छ।

नेपालमा आर्थिक वर्ष २०७९/८० देखि राजस्व वृद्धिको गति सुस्त देखिन थालेको हो। त्यसअघि लामो समयसम्म हरेक वर्ष अघिल्लो वर्षको तुलनामा बढी राजस्व संकलन हुने क्रम रहेको थियो।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार २००८ सालयता आर्थिक वर्ष २०१०/११, २०१४/१५, २०१८/१९ र २०२४/२५ मा मात्रै अघिल्लो वर्षको तुलनामा कम राजस्व उठेको थियो। त्यसपछि लामो अन्तरालपछि आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन पुनः घटेको थियो।

कोभिड–१९ महामारीको प्रभाव रहेको आर्थिक वर्ष २०७६/७७ मा भने अघिल्लो वर्षकै हाराहारीमा राजस्व संकलन भएको थियो। त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः १६ प्रतिशत र १४ प्रतिशत राजस्व वृद्धिदर कायम भए पनि आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशतले गिरावट आएको थियो।

त्यसयता पछिल्ला तीन आर्थिक वर्षमा राजस्व संकलनमा सुधार देखिए पनि विगतमा जस्तो उच्च वृद्धिदर हासिल हुन सकेको छैन।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका