Wednesday, October 21, 2026
Homeराजनीतिआमूल परिवर्तन रिपब्लिकन र संयुक्त नागरिक पार्टीबीच एकीकरण हुँदै

आमूल परिवर्तन रिपब्लिकन र संयुक्त नागरिक पार्टीबीच एकीकरण हुँदै

काठमाडौँ: आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टी बीच एकता हुने भएको छ।
हिजो साउन २५ गते ललितपुरमा आयोजित पार्टी एकीकरण घोषणा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टीका अध्यक्षलगायत विभिन्न बुद्धिजीवी तथा सरोकारवालाको उपस्थितिमा पार्टी एकीकरणको जानकारी गराइएको हो।

सो पत्रकार सम्मेलनमा आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरी तथा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै मुलुकको परिस्थतिलाई मध्यनजर राख्दै मिसन ८४ लक्षित योजना बनाई अघि बढ्ने वाचा व्यक्त गर्नुभएको थियो।
अध्यक्षद्वयले ठूला भनिएका पार्टीहरूबाट गणतन्त्रको उपहास गर्दै मुलुकलाई भडखालोमा हाल्ने काम भइरहेको र यसको विकल्पमा पार्टी एकीकरण गर्न लागिएको प्रस्ट पार्दै पार्टी नफुट्ने गरी एकीकरण गर्न लागिएको बताउनुभयो।

पार्टी एकीकरणको औपचारिक घोषणा आगामी भाद्र १० गते हुने जानकारी पत्रकार सम्मेलन कार्यक्रमका संचालक विदुर अधिकारीले बताउनुभयो।

यस्तो छ प्रेस विज्ञप्तिको पूर्णपाठ:

विषयः प्रेस विज्ञप्ति मितिः २०८१/०४/२५
सञ्चारकर्मी मित्रहरू,
राष्ट्रमा विद्यमान सबै प्रकारका असमानता, विभेद, दमन र बहिष्करणको अन्त्य गर्दै, देशको विकास र समृद्धिका निम्ति गरेका परिवर्तनकारी राजनीतिक आन्दोलनको सम्मान र उपलब्धिको रक्षा गर्दै आम नागरिकको चाहनाअनुसार अगाडि बढाउनु देशको राजनीतिक नेतृत्वको जिम्मेवारी हो । तथापि सत्ता र शक्तिको दुरुपयोग गरेर सिङ्गो देशलाईनै केही यथास्थितिवादी, पश्चगामी तत्वले जनताको इच्छा र अपेक्षा विपरीत गई यो या त्यो बहानामा आरोप-प्रत्यारोप गर्दै पछाडि धकेल्ने कुचेष्टा गर्दै आएका छन् ।
देशको राजनीतिक व्यवस्थाको परिवर्तन गरी नागरिकलाई समान अधिकार दिलाई समग्र देशलाई विश्वका अरू देशहरू जस्तै विकास गर्न विभिन्न कालखण्डमा पटक पटक आन्दोलन गरी देशले १० वर्षे जनयुद्ध समेत सामना गर्नुपरेको कुरा सबैलाई अवगत नै छ । २०६२/६३ को जनआन्दोलन पश्चात शान्ति सम्झौतालाई दीर्घकालीन स्थायित्व दिनको निम्ति संविधान सभामार्फत नयाँ संविधान जारी गर्ने क्रममा समेत आलटाल भए तापनि २०७२ सालमा शान्ति सम्झौताको एक दशक पश्चात नयाँ संविधान जारी भयो । लामो संघर्षपछि प्राप्त संविधानले जनताले आशा गरेका महत्त्वपूर्ण कुराहरू जस्तै नेपाल राष्ट्रलाई भौगोलिक, जातिय एवं भाषिक, सांस्कृति, धार्मिक विविधता रहेको, धर्म निरपेक्षता सहितको एक लोकतान्त्रिक गणतन्त्रको रूपमा सम्बोधन गरेसँगै आम नागरिकले विगतमा भोग्नु परेका हरप्रकारमा विभेद र उत्पीडनबाट उन्मुक्ति पाई संविधानले सुनिश्चित गरेका मौलिक हकअधिकार उपभोग गरी विकासको लक्षतर्फ अघि बढ्ने आशा गरिएको थियो, तर व्यवहारमा त्यसो हुन सकेन । राज्यले नै अल्पसंख्यक धार्मिक समुदायहरूलाई धर्म परिवर्तनको आरोप लगाई जेल हाल्ने, समाजका पिछडा वर्ग साथै शिल्पी समुदायका नागरिकहरूलाई जातिय भेदभाव गरी बलत्कार र हत्या गर्ने, देशमा भ्रष्टाचार मौलाएर देश दिनदिनै गरीबीमा धकेल्ने, देशका युवा शक्ति विदेशमा निर्यात गर्ने जस्ता गतिविधिबाट कुनै पनि परिवर्तन नआएपछि फेरि पनि नागरिकले आफ्नो मौलिक अधिकारको लागि समेत राज्यसँग भिख माग्नुपर्ने अवस्था सृजना भयो ।
पत्रकार मित्रहरू !
देशको यस्तो अत्यास र उराठ लाग्दो अवस्था देखेपछि अब यो देशले ईश्वरको डर भय मान्ने नेतृत्व पाए मात्र नागरिकलाई सबै प्रकारका अधिकार प्रदान गरी समग्र देशको विकास गर्न सकिन्छ, आध्यात्मिक भौतिकवादको जगमा टेकेर यो देशलाई आजको युरोप र अमेरिकाका नागरिकले उपभोग गरिरहेको अधिकार र सम्पन्नता नेपाली नागरिकलाई दिन सकिन्छ भन्ने निष्कर्षकासाथ श्री भरत गिरी ज्यूको नेतृत्वमा २०७३ साल श्रावण २३ गते आमूल परिवर्तन ख्रीष्टियन पार्टी स्थापना गरिएको थियो जुन विभिन्न उत्तरचढाव बाबजुद तात्कालीन एपी ख्रीष्टियन पार्टी आमूल परिवर्तन मसिह पार्टी हुँदै पछिल्लो पटक एपी रिपब्लिकन पार्टीको रूपमा नामकरण भएको थियो । पार्टी स्थापना कालदेखि नै विभिन्न मुद्दामा बहस, खबरदारी र सडक आन्दोलन समेत गरेको यहाँहरूलाई अवगत गराउन चाहन्छौं । समाजमा जातिय तथा धार्मिक गतिविधि प्रतिकूल भएगरेका कृयाकलापको विरुद्ध, भ्रष्टाचार विरुद्ध, देशको सीमा सुरक्षाको पक्षमा लगायतका मुद्दाहरूमा हामीले विभिन्न खबरदारी गरेका थियौं ।
मित्रहरू ! हामी सबैलाई अवगत भएकै कुरा हो कि हामी विभिन्न समूहमा आआफ्नै तरिकाले अगाडि बढिरहेका थियौं र छौं । धेरै लामो समयदेखि नै हामी समान विचार र दर्शन मिल्नेहरू विशेषतः स्वआस्थाका अगुवाहरूले नेतृत्व गरिरहेका दलहरूलाई एकै ठाउँमा खडा हुन आह्वनका साथ दलहरूमाझ एकता गर्न समाजसेवी डा. सिमोन पाण्डे ज्यूको संयोजकत्वमा “बृहत् राजनीतिक एकता संयोजन समिति” गठन गरी विभिन्न पार्टीहरू बिच एकताको निम्ति पहल एवं छलफल गर्ने कार्यलाई तीव्र रूपमा अगाडि बढायौं । जसको फलस्वरूप श्री दलमर्दन कामी ज्यूको नेतृत्वमा रहेको संयुक्त नागरिक पार्टी र श्री भरत गिरी ज्युको नेतृत्वमा रहेको संयुक्त नागरिक पार्टीबिच एकताको निम्ति सम्झौता भएको अवगत गराउँदछौं । नेपालको संविधान २०७२ को रक्षा गर्दै संविधानले निर्देश गरेको अधिकार सबैको पहिचान, अस्तित्व, समता, संघीयता, धर्मनिरपेक्षता, पूर्णसमानुपातिकता, समावेशीता, विभेदरहित समृद्ध समाज र विकसित राष्ट्र निर्माण गर्न नेपाली समाजको विविधतामा आधारित सर्वजातीय सामाजिक लोकतन्त्रको मूल मर्म र मान्यतालाई आत्मसात् गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रको कार्यकारी प्रमुख राष्ट्रपतिको प्रावधानसाथ आध्यत्मिक भौतिकवादको जगमा टेकेर अगाडि बढ्नेछौं ।
अहिले हामी दुई दलबिच आमूल परिवर्तन नागरिक पार्टीको नाममा पार्टी एकता गर्ने निर्णयसहित “बृहत् राजनीतिक एकता संयोजन समिति” का संयोजक समाजसेवी डा. सिमोन पाण्डे ज्यूको उपस्तिथिमा यो पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराउँदछौं ।
यसअघि चरीबहादुर गहतराजको नेतृत्वमा रहेको समाजिक एकता पार्टी, गुणबहादुर बिकको नेतृत्वमा रहेको जनमुखी पार्टी, प्रेमबहादुर कार्कीको नेतृत्वमा रहेको नागरिक अधिकार पार्टी र दलमर्दन कामी नेतृत्वको संयुक्त जनता पार्टीसहित ४ पार्टीबीच एकता भई दलमर्दन कामीको नेतृत्वमा संयुक्त नागरिक पार्टी बनिसकेको तथ्य समेत अवगत गराउँदै पुन: अरू स्वआस्थाका अगुवाहरूद्वारा नेतृत्व गरिएका पार्टीहरूसँग पनि एकताको ढोका खुल्ला राख्दै हामी दुई आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टी बिच यही भदौ १० गते सोमवार ऐतिहासिक रूपमा पार्टी एकता घोषणा सभा कार्यक्रमको आयोजन गरिने जानकारी गराउँदछौँ । यो एकता राष्ट्रको आवश्यकता, आम नागरिक र समुदायको चाहना तथा जटिल बन्दैगएको राष्ट्रिय राजनीतिक परिस्थितिको माग, देशको विकास, समृद्धि र प्रगतिका लागि नयाँ मार्गमा यात्रा गर्ने दृढ संकल्प र हाम्रो अटल प्रतिवद्धताको प्रतीक पनि हो । यस यात्रामा यहाँहरू सबैको साथ समर्थन र सहयोगको अपेक्षा गर्दै उक्त पार्टी एकता घोषणा सभामा उपस्थितिका लागि समेत यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ ।
धन्यवाद ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका