Wednesday, April 15, 2026
Homeअन्तरवार्ता‘आन्तरिक मतभेदलाई निहित स्वार्थमा बदलेर पार्टीमा विग्रह ल्याउने कोसिस भयो’

‘आन्तरिक मतभेदलाई निहित स्वार्थमा बदलेर पार्टीमा विग्रह ल्याउने कोसिस भयो’

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी स्थानीय तहमा कतिपय काम आफूले चाहेर पनि गर्न नसकिएको बताउँछन् । संघीयताको मोडलसहित नयाँ व्यवस्थामा आफूहरू पहिलो पटक जनप्रतिनिधिका रूपमा आउँदा कानुन निर्माणदेखि लिएर जनताका अपेक्षा सम्बोधन गर्नुपर्ने प्रशस्त चुनौती रहेको उनको भनाइ छ ।

यद्यपि संरचना निर्माण, कानुन निर्माण, दीर्घकालीन योजना तर्जुमा जस्ता विषयमा आफूहरूले प्रशस्त काम गरेको उनको भनाइ छ । नेकपा एमालेबाट निर्वाचित भएका उनी यसबीचमा पार्टी विभाजन भए पनि खासै असर नपरेको दाबी गर्छन् । पार्टी र बुटवलवासीले चाहेमा आफू दोस्रो कार्यकालका लागि पनि तयार रहेको उनले बताए ।

यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले उपमहानगर प्रमुख सुवेदीसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

बुटवल उपमहानगरपालिकाको प्रमुखका रूपमा अहिलेसम्मको आफ्नो कार्यकाललाई कसरी हेर्नुभएको छ ?

हामी २०७४ सालमा निर्वाचित भएर आएका हौँ ।  स्थानीय पालिकामा लामो समयपछि जनताका प्रतिनिधि चुनिएर आउँदा अवसर र चुनौती उत्तिकै थिए । त्यसकारण हामीले धेरै मेहनत गर्नुपर्ने अवस्था थियो । त्यो हामीलाई पहिल्यै थाहा पनि थियो । झण्डै २० वर्षसम्म कर्मचारीहरूले स्थानीय तह चलाएको अवस्थामा हामी आएर अर्को मोडलबाट काम गर्नुपर्ने आवश्यकता र बाध्यता थियो ।

सुरुमा हामीले कानुन निर्माणको वर्ष, आधार निर्माणको वर्ष र कार्यान्वयनको चरणका रूपमा लिएर काम गर्दै आयौँ । अहिले एक सयभन्दा धेरै कानुन (ऐन, नियम, मापदण्ड, निर्देशिका, कार्यविधि, आचारसंहिता) निर्माण गरी कार्यान्वयनमा आएका छन् । बुटवल उपमहानगरपालिकाको संगठन संरचना निर्माण भएको छ ।

वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका कार्यालयहरूमा विद्युतीय हाजिर प्रणाली कार्यान्वयन गरेका छौँ । अर्कोतिर हामीले भौतिक विकाससँगै सामाजिक विकासका लागि किसानको फसल धितो राखेर अनुदान दिने, सहुलियत ऋण उपलब्ध गराउने, किसानलाई मल, बीउ र उपकरण प्रदान गर्ने लगायतका काम गरेका छौँ ।

सहरी कृषि प्रवर्द्धन, वातावरणीय संरक्षण र संवर्द्धन, एक वन बहुपोखरी निर्माण, हरियाली प्रवर्द्धनजस्ता काम भएका छन् । अहिले बुटवलमा डिजिटल हाउस नम्बरिङ्गको काम सम्पन्न भई कार्यान्वयनमा आएको छ । यसमा जिआईएस म्यापमार्फत सडक तथा घरहरू पहिचान गर्न सकिने छ ।

यस्तै चीनको ऐतिहासिक तथा सामरिक सहर सियानसँग भगिनी सम्बन्ध कायम गर्दै अनुभव तथा सहयोग आदान प्रदान गर्ने काम भइरहेको छ । बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयसँगको सम्झौतामार्फत बुटवलमा आर्थिक विकास परियोजना लागु गरिएको छ ।

आफूले गरेका कामको फेहरिस्त लामै सुनाउनु भयो तर अहिलेसम्मको अवधिमा तपाईं आफू सन्तुष्ट, नगरवासीचाहिँ असन्तुष्ट देखिएको हो ?

होइन । त्यो अवस्था छैन । बुटवल पटकपटक उत्कृष्ट नगरपालिकामा परेको छ । यसले बुटवलवासीको गौरव बढाएको छ । बुटवलवासी असन्तुष्ट हुनुपर्ने कारण नै छैन ।

हामी जब बुटवल उपहानगरपालिकामा विजयी भएर आयौँ, बुटवलमा कस्ता समस्या छन् र ती समस्या समाधान गर्न के गर्नुपर्छ भन्ने स्पष्ट रूपमा बुझेका थियौं । त्यसैले योजना र प्राथमिकीकरणमा परेका धेरै सेवालाई अहिले स्थानीय तहमार्फत प्रवाह गरिएको अवस्था छ । १० लाख रुपैयाँसम्मका योजना वडा कार्यालयमार्फत नै चलेका छन् । हामीले आफूलाई सेवादेही अर्थात् सेवक र पालिकालाई सेवा केन्द्रका रूपमा विकास गर्नुपर्ने थियो । किनकि विगतमा त्यो अवस्था थिएन ।

अर्कोतिर, मुलुक संघीयता गएको बेला नागरिकको पहिलो र आधारभूत सेवाकेन्द्रका रूपमा स्थानीय पालिका रहेका हुन् । हामीले पहिलो काम १५ वर्षे गुरुयोजना बनाएर बुटवलको विकासका लागि काम सुरु गर्‍यौँ । त्यसका लागि आवधिक योजना र दीर्घकालीन योजना अनुसार काम भइरहेका छन् ।

दोस्रो, हामीले विभिन्न कानुन बनाएका छौँ । यो अवधिमा कानुन निर्माण, समृद्धिका आधार तय गर्ने र तिनलाई क्रमशः कार्यान्वयन गर्ने काम भइरहेका छन् ।

तेस्रो, बुटवलको भौतिक पूर्वाधारतर्फ ठुलो विकास भएको छ । बुटवलका सडक सञ्जाल, आन्तरिक बाइपास सडक निर्माण, ठाउँ ठाउँमा पुलपुलेसा निर्माण भएका छन् । उज्यालो सहर निर्माण सम्पन्न भइसकेका छन् ।

राष्ट्रिय स्वाभिमानको जितगढी सम्पदा संरक्षण, विस्तार र त्यसलाई उजागर गर्ने काम भएको छ । जितगढी संग्रहालय बनाउनेदेखि लिएर बुटवलमा मुलुककै पहिलो ढुवानीग्राम निर्माण गरेका छौँ । यस्तै, बुटवल वधशाला निर्माणको अन्तिम चरणमा पुगेको छ । बैठौलिया ताल विस्तारको काम भएको छ । बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माण भएका छन् ।

शिक्षा, स्वास्थ्यलाई जोड दिएर काम गरेका छौँ । विद्यालयको विकास गुणात्मक रूपमा भएको छ । शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि, पर्यटन र रोजगारीलाई बुटवलको समृद्धिका आधारमा रूपमा लिने र तिनलाई साकार पार्ने गरी गुरुयोजनामा समेटिएको छ ।

अर्कोतिर हामीले संविधानले दिएको अधिकार अनुसार नै सडक मानवमुक्त र लैङ्गिक हिंसामुक्त सहर घोषणा गर्ने, समृद्धिका आधार तय गर्ने काम गरेका छौँ । यसका साथै बुटवल उपमहानगरको राजस्व संकलनमा तीन गुणा वृद्धि भयो । त्यसमा करदाता, निजी क्षेत्र र सचेत नागरिक समुदायको सकारात्मक भूमिका छ ।

खासमा तपाईंंले जिम्मेवारी सम्हालेपछि बुटवलवासीको जीवनस्तरमा या बुटवल सहरमा कस्तो परिवर्तन भयो ?

जनप्रतिनिधिका रूपमा आइसकेपछि नगर गौरव, प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढाइएका प्रदेश गौरव र संघीय सरकारसँगको सहकार्यमा राष्ट्रिय गौरवका आयोजनाहरूको पूर्णता दिनेतर्फ काम गरेका छौँ ।

हामीले गरेका भौतिक पूर्वाधार विकासले पनि बुटवल सहरमा धेरै परिवर्तन आएको छ । बुटवल आर्थिक केन्द्र हो । बुटवल सांस्कृतिक सहर र पर्यटन सर्किटको प्रमुख स्थल पनि हो । हामीले त्यसैलाई आधार मानेर काम गर्दा धेरै फरक परेको छ । बुटवल बुद्धावलीको अर्थात् बुद्ध डुल्ने, खेल्ने गरेको क्षेत्र हो ।

बुटवलसँग जोडिएको ठाउँमा रामापिथेकशको अवशेष फेला परेको हो । त्यस अर्थमा मानव सभ्यताको मुहान बुटवल पनि हो । बुटवल राष्ट्रिय स्वाभिमानको किल्ला, वीरताको किल्ला जितगढी सम्पदा भएको स्थल हो । त्यसलाई संरक्षण गर्न, प्रचार प्रचार गर्ने काम गरेका छौँ । अर्कोतिर रामापिथेकश र कर्णेल उजीरसिंहलाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ ।

पर्यटन सर्किट बनाउने काम गरिरहेका छौँ । मेयर युवा उद्यमी कार्यक्रममार्फत धेरैलाई हामीले सीप सिकाएका छौँ । बुटवलको कुनै नागरिक बेरोजगार बस्नु हुँदैन भन्ने नीति छ । त्यसका लागि नगरपालिका सीप, उद्योग तथा, व्यापार गर्न वातावरण तयार पारेको छ ।

ऐतिहासिक नगरी बुटवललाई पहिलो कार्यकालमा के कस्तो बनाउने, त्यसपछिको दश वर्षमा कस्तो बनाउने, २० वर्षमा कस्तो र आगामी ५० वर्षमा कस्तो बनाउने भन्ने दीर्घकालीन महत्त्वका योजना तय गरिएको छ । अबको कम्तीमा ५० वर्षपछिको यहाँको जनघनत्व अनुमान गर्दै बृहत् बुटवलको खाका बनाउने र त्यसलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने काम भइरहेको छ । हामीले बनाएको सहरी विकास गुरुयोजनाले पनि आगामी केही दशकपछिको अवस्थाको आँकलन गर्दै सोही अनुरूपका योजना छनौट गरेको छ । प्राविधिक अध्ययन तथा मापदण्ड निर्माण गर्ने काम सम्पन्न गरी बुटवलमा १७ तलासम्म बहुतले भवन निर्माणका लागि अनुमति प्रदान गर्ने काम सुरु भएको छ । मोतिपुर र सेमलारमा स्याटेलाइट सिटी तथा उपशहर निर्माण गर्न जग्गा यकिन गर्ने, गुरुयोजना निर्माण गर्ने काम सम्पन्न भएको छ ।

शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि, पर्यटन र रोजगारीलाई बुटवलको समृद्धिका आधारमा रूपमा लिने र तिनलाई साकार पार्ने गरी गुरुयोजनामा समेटिएको छ । अहिलेको घना बस्तीमा बिजुली, पानी, फुटपाथ, सरसफाइ, सुरक्षाको प्रबन्ध र नयाँ बस्ने बस्तीलाई प्लानिङसहितको स्याटेलाइट सिटीका रूपमा विकास गर्ने गरी प्राविधिक अध्ययन पूरा भएका छन् ।

छाडा चौपाया व्यवस्थापन, ल्यान्डफिल साइटको व्यवस्था गर्न सक्नु भएन । दैनिक जीवनमा महसुस गर्न सकिने यस्ता समस्या समाधानमा किन ध्यान पुगेन ?

हामीले सडकका छाडा चौपाया नियन्त्रण, फोहर व्यवस्थापनको लागि ल्याडफिल साइट निर्माण गर्न नसकेको म आफै भन्छु । भूमिहीनहरूका लागि लालपुर्जा वितरण गर्न पनि सकिएको छैन । ती समस्या समाधानका लागि प्रक्रिया भएका छन् । कतिपय विषय नगरपालिकाको कारणले भन्दा पनि अन्य कारणले ढिलाइ भएका हुन् । त्यो बुझ्नु पर्छ ।

हामीले वचनबद्ध गरेका धेरै काम गरेका छाँै । हामीलाई थाहा थियो बुटवलका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने । हाम्रा आफ्नै अधिकार र क्षमता हुन्छन् । त्यसैका आधारमा काम गर्दा पनि यहाँ फोहर व्यवस्थापन र छाडा गाईबस्तु व्यवस्थापन र लालपुर्जा वितरणको काम बाँकी रहे । हामीले गरेका यस्ता थुप्रै काम छन्, जसको चर्चा कम हुन्छ, तर गर्न बाँकी रहेका कामको मात्र चर्चा हुन्छ ।

चाहेर पनि काम गर्न नसक्नुको कारण के हो ?

हामी आउँदा धेरै चुनौती थिए । धेरै काम गर्नुपर्ने थियो । संघीयता आएपछि जनताको अपेक्षा पनि बढेका थिए । यो हामी आफै सरिक भएर ल्याएको नयाँ व्यवस्था हो । यो व्यवस्थामा पनि कतिपय सुधार गर्नुपर्ने छ । नयाँ व्यवस्था त ल्यायौँ तर नागरिकको अवस्था सुधार्न सकेनौँ भने परिवर्तनको अनुभूति हुन सक्दैन भन्नेमा हामी गम्भीर छौँ ।

बुटवलमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन हामीले जग्गाको नाँपजाँच गरेका छौँ । तर संघीय सरकारले भूमि आयोग बनाउने, खारेज गर्ने र फेरि बनाउने काम भयो । त्यसको असरले यहाँ लालपुर्जा वितरण गर्न सकिएन ।

दोस्रो नम्बरमा फोहोर व्यवस्थापनका लागि पनि ल्यान्डफिल बनाउन सकिएन । किनकि एक ठाउँमा स्थानीयवासीबाट विरोध भएपछि अर्को ठाउँमा बनाउनु पर्ने भएका छ, यसका लागि जग्गाको खोजी भएको छ । काम अझै पूरा भएको छैन । त्यसलाई सुरुवातचाहिँ गरेका छौँ ।

हामीले सडकमा छाडा चौपाया पनि व्यवस्थित गर्न प्रकृया सुरु गरेका छौँ । त्यो नगरपालिकाले चाहेरमात्र तत्काल गर्न नसक्ने विषय भएकाले ढिला भएको हो । त्यसलाई सुरुवात गरेका छौँ । पूर्णता पनि छिटै हुनेछ । यी काम चाहेर पनि पूरा गर्न नसकिएका हुन् ।

तपाईं बुटवलको मेयरका रूपमा दोस्रो कार्यकालका लागि पनि इच्छुक हुनुहुन्छ ? 

म राजनीति गर्ने मान्छे हो । बुटवल उपमहानगरपालिकाको मेयरसँगै एमालेको केन्द्रीय सदस्य पनि हुँ । अहिलेसम्म पार्टी र जनताको सेवा गरेको छु । अब पार्टी र जनताले फेरि मेयर भएर आइज भनेछन् भने नआउने कुरै छैन । होइन, प्रदेश सांसद या अन्य पदमा बसेर काम गर भने पनि मान्नु पर्छ । खासमा मैले भन्दा पनि पार्टी र जनताको चाहना र आवश्यकताले निर्धारण गर्नेछ । हेरौं, अझै दिन बाँकी नै छ ।

तर तपाईंंको दल नेकपा एमाले त विभाजन भइसकेको छ, यसले कस्तो असर गर्ला ?

आन्तरिक मतभेदहरू सबैजसो पार्टीमा छन् । हाम्रो पार्टीमा आन्तरिक मतभेदलाई निहित स्वार्थमा बदलेर, पूर्वाग्रह साँधेर विग्रह ल्याउने कोसिस भयो । तर, रुपन्देहीसहित लुम्बिनी प्रदेशमा उक्त विग्रहको असर अति न्यून मात्रामा परेको छ । रुपन्देहीमा त अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू धमाधम एमालेमा समाहित हुनुभएको छ । साबिकको नेकपाको निरन्तरताका रूपमा तत्कालीन माओवादीमा रहनुभएका कैयन कमरेडहरू समाहित भएर हाम्रो पार्टी अझ एकताबद्ध रूपमा अगाडि बढेको अवस्था छ । बुटवलमा १९ वडामा एक सयभन्दा धेरै जनप्रतिनिधि रहेकामा जम्मा तीन जना वडा सदस्यले मात्रै अर्को पार्टीमा सनाखत गर्नुभएको हो । उहाँहरूलाई पनि मूलधारमै फर्काउने तयारीमा छौँ ।

हिजो व्यवस्था बदल्न भनेर एउटै मोर्चामा र आन्दोलनमा खटिएका सबै साथीहरू अब फेरि त्यही नयाँ व्यवस्थालाई संस्थागत गर्न र जनताको अवस्था बदल्ने अर्को जिम्मेवारीमा समर्पित भएर खट्नुपर्नेमा ससाना विषयमा मतभेद निम्त्याएर विग्रहमा जाने कुरा त राम्रो होइन नि । खासमा विभाजनको असर यहाँ भोग्नुपरेको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका