काठमाडौँ: दोस्रो विश्वयुद्धका क्रममा भएको भयानक नरसंहार (होलोकास्ट) नदोहोरियोस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदैछ। भ्रातृत्व, प्रेम, र सद्भावको सन्देश फैलाउने उद्देश्यले यो दिवस मनाइने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घ महासभाले प्रस्ताव ६०/७ पारित गर्दै हरेक वर्ष जनवरी २७ लाई होलोकास्टका पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रिय स्मृति दिवस को रूपमा मनाउने निर्णय गरेको हो।
दिवसको अवसरमा राष्ट्रसङ्घको न्यूयोर्कस्थित मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रम आयोजना हुँदैछन्। होलोकास्टका क्रममा ६० लाखभन्दा बढी यहुदीको ज्यान गएको थियो।
यसै अवसरमा इजरायल, संयुक्त राज्य अमेरिका, र सङ्घीय गणतन्त्र जर्मनी का राजदूतावासहरूले आज काठमाडौँमा संयुक्त रूपमा एक स्मृतिसभा आयोजना गर्ने भएका छन्। इजरायलका राजदूत श्मुलिक आरी बासले स्मृतिसभाको जानकारी दिएका छन्।


