काठमाडौं — सोमबार सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको हो।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेश, कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ। बाँकी प्रदेशका पहाडी र तराईका केही भागमा पनि वर्षा हुन सक्छ।
कोशी प्रदेशको पहाडी भूभाग तथा मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


