काठमाडौँ, १९ भदौ – प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसबाहेक, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी) (पहिलो संशोधन) विधेयक, २०७९’ माथि सदनमा पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यतालिकामा समावेश गरिएको छ।


