Wednesday, July 29, 2026
Homeसामाचारआज पनि देशभर वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षा र हिमाली क्षेत्रमा...

आज पनि देशभर वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका