Friday, July 17, 2026
Homeसामाचारआज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र पहिरोको जोखिम

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र पहिरोको जोखिम

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने अवस्था बनेको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग, पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र मधेस प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना पनि रहेको छ।

महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, कोशी र बागमती प्रदेशका हिमाली भूभाग, साथै कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा र अन्य गतिविधि सञ्चालन गर्दा विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका