काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर भए पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


