काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ। तर बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएको छ।
महाशाखाले आज दिउँसो देशभर सामान्यतया बदली रहने र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना जनाएको छ।
आज राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, अन्य प्रदेशका पहाडका थोरै स्थानमा तथा बाँकी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत महाशाखाले जनाएको छ।


