Saturday, November 7, 2026
Homeसामाचारआज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा

आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौँ, १८ मङ्सिर — मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले पितृको सम्मान र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै उँधौली पर्व मनाएका छन्। किराँतभित्रका विभिन्न जातिले यस पर्वलाई आफ्नै भाषाअनुसार फरक नामले पुकारे पनि समग्रमा उँधौलीकै रूपमा चिनिन्छ। याक्खा समुदायले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उँधौली सकेला’ र लिम्बूहरूले ‘चासोक तङ्नाम’ नामले पर्व मनाउँछन्। लिम्बू समुदायले चासोक तङ्नाम तीन दिनअघि नै सुरु गरेका थिए।

किराँत संस्कृतिमा अन्नबाली पाकेपछि इष्टदेवतालाई अर्पण गर्ने, खाने अनुमति माग्ने र पितृस्मरण गर्ने परम्परालाई उँधौली पर्वसँग जोडिन्छ। खेती रोप्ने समय भने ‘यावा’ अर्थात् उँभौली पर्वका रूपमा मनाइन्छ।

आज बिहानैदेखि पुरुष–महिला जातीय पहिरनमा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाँच्दै भूमिपूजाका लागि विभिन्न स्थल पुगे। पर्व र रीतिरिवाज एउटै भए पनि नाममा भाषागत भिन्नता देखिन्छ। ललितपुरको सानो हात्तीवन किराँतकालदेखि नै ऐतिहासिक तीर्थस्थल मानिँदै आएको छ, जहाँ आज विशेष चाडपूजा सम्पन्न भयो।

लिम्बू समुदायले युमासामाङ र थेवासामाङलाई इष्टदेवता मान्छन् भने अन्य किराँत जातिले तागेरा निङ्वाफुमाङलाई अदृश्य शक्तिका रूपमा पूज्ने गर्छन्। तसर्थ, तागेरा निङ्वाफुमाङका कुनै मूर्ति वा प्रतिमा नबनाइने चलन छ।

पूजापछि समुदायले चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरे। साथै, विविध खेलकुद र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा पनि जारी रह्यो।

वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गर्ने किराँतहरूले आजको उँधौली पूजा पछि ‘माथिबाट तल झर्ने’ सांस्कृतिक चक्र पूरा गर्छन्। अनुसन्धानकर्ता किर्तिकुमार दुमी राईका अनुसार यो प्राकृतिक मौसम चक्रअनुसारको जीवनशैली—जाडोमा तल बस्ने र गर्मीमा माथि लेकतिर जाने—साथै पर्यावरणसँगको मानवीय अनुकूलताको प्रतीक हो।

उँभौलीमा राम्रो खेतीपाती होस् भनी प्रार्थना गरिन्छ भने उँधौलीमा प्राप्त उत्पादनका लागि भूमे (साकेला) लाई कृतज्ञता प्रकट गरिन्छ। दुवै पर्व किराँत समुदायमा भव्यरूपमा मनाइन्छन्।

धान्य पूर्णिमा (खस आर्य), यः मरि पुन्हि/योमरी पूर्णिमा (नेवार) र उँधौली (किराँत) — यी सबैको मूल भाव भने एउटै छ: नयाँ अन्न देवी–देवतालाई चढाएर उपभोग गर्ने परम्परा। यस अवसरमा सरकारले जारी गरेको सार्वजनिक बिदासहित आज देशभर उँधौली पर्व उल्लासपूर्वक मनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका