काठमाडौं, माघ ३– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् कटौती गरिनेछ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य जारी रहेको छ। भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत् कटौती हुनेछ।
यसैगरी, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि सोही समय विद्युत् आपूर्ति बन्द रहनेछ।
सूचनाअनुसार बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रसमेतमा बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत् कटौती हुनेछ।
प्राधिकरणले विद्युत् कटौतीबाट पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ। तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोभन्दा पहिल्यै पुनः सुरु हुन सक्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।


