काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहकार्यमा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ।
यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नाराका साथ सप्ताह मनाइँदै छ। अभियानले आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत आवश्यक सहयोग उपलब्ध गराई स्तनपान प्रवर्द्धनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
डब्ल्युएचओका अनुसार विश्वका धेरै मुलुकमा अझै पनि आमा र परिवारले स्तनपानलाई सहज बनाउन आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग पर्याप्त रूपमा पाउन सकेका छैनन्। तर स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने डब्ल्युएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप–२ मधुमेह जस्ता नसर्ने रोगको जोखिम कम गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार हुँदै गएको तथ्यांक पनि सार्वजनिक गरिएको छ। सन् २०१२ मा जन्मदेखि छ महिनासम्म पूर्ण स्तनपान गराइने दर करिब ३७ प्रतिशत रहेकोमा हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ। त्यस्तै, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ। डब्ल्युएचओ र युनिसेफका अनुसार यसले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रम प्रभावकारी भएको देखाउँछ।
यद्यपि धेरै मुलुकमा स्तनपानसम्बन्धी सेवा अझै पर्याप्त विस्तार हुन नसकेको, सम्बन्धित नीतिको प्रभावकारी कार्यान्वयन हुन बाँकी रहेको तथा विशेषगरी न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय सङ्कटग्रस्त क्षेत्रमा सेवाको गुणस्तर कमजोर रहेको जनाइएको छ।
डब्ल्युएचओ र युनिसेफले स्वास्थ्य संस्थामार्फत दक्ष स्तनपान परामर्श, समुदायमा आधारित परामर्श सेवा, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थलको व्यवस्था तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूधको अनियन्त्रित प्रवर्द्धनमाथि प्रभावकारी नियन्त्रणलाई स्तनपान प्रवर्द्धनका प्रमुख उपायका रूपमा औंल्याएका छन्।
डब्ल्युएचओका अनुसार यस्ता कार्यक्रमको प्रभावकारी विस्तार गर्न सके प्रत्येक वर्ष करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिन्छ। साथै, स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलरको लगानीबाट करिब ५९ अमेरिकी डलर बराबरको आर्थिक प्रतिफल प्राप्त हुने आकलन गरिएको छ।
यस वर्षको सप्ताहका अवसरमा डब्ल्युएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न, समुदायमा आधारित परामर्श सुदृढ बनाउन, सशुल्क प्रसूति बिदा र स्तनपानमैत्री कार्यस्थल सुनिश्चित गर्न तथा गर्भावस्था, प्रसूति र प्रसूतिपछिको स्वास्थ्य सेवासँग स्तनपान प्रवर्द्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्।
सन् २०१८ मा विश्व स्वास्थ्यसभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्द्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै डब्ल्युएचओले प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट सुरुआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।


