हाल कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ। लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी र पश्चिमी तराई भूभागमा पनि सामान्य बदली रहेको छ। बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ।
देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा अन्य तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
समग्रमा देशका अधिकांश भूभागमा बदली रहने तथा हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


